काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ललिता निवास जग्गा हिनामिना प्रकरणमा दोषी पाइएमा जतिसुकै उच्च तहको व्यक्ति भएपनि कारबाही हुनुपर्ने बताउनुभएको छ ।
सर्वोच्च अदालतले आइतबार ललिता निवास जग्गा हिनामिना प्रकरणमा निर्णय हुँदाको बखतका मन्त्रिपरिषद्का सदस्यलाई समेत अनुसन्धान गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशले पूर्व प्रधानमन्त्रीहरु डाक्टर बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको छ ।
सर्वोच्चको आदेशपछि फेसबुकमा स्टाटस लेख्दै डाक्टर भट्टराईले ललितानिवास लगायत जुनसुकै प्रकरणमा मन्त्रिपरिषद् लगायत सबै तहबाट भएका निर्णयहरू उपर निष्पक्ष छानबिन गरेर कानुन विपरित, राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढंगले कार्य भए गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानून अनुसार कार्वाही गरिनुपर्ने उल्लेख गर्नुभएको हो ।
उहाँले देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने आफ्नो आजीवन मान्यता र प्रतिबद्धता रहेको पनि उल्लेख गर्नुभएको छ।
आफू प्रधानमन्त्री हुँदा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई उहाँले आग्रह पनि गर्नुभएको छ ।
ललितानिवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशन अनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्ने पनि डाक्टर भट्टराईले प्रतिवद्धता जनाउनुभएको छ ।