चण्डिभञ्ज्याङ्ग । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित चण्डिभञ्ज्याङ्गमा सञ्चालित ढुङ्ग्रे लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा चट्याङले असार ८ गते क्षति पु¥यायो । तर क्षति पु¥याएको करिब महिना दिन पुग्न लाग्दा पनि समयमै मर्मत गर्न नसक्दा खानेपानीको लागि स्थानीयले सास्ती व्यहोर्नु परेको छ ।
करिब २ वर्ष अघि सञ्चालनमा आएको उक्त खानेपानी आयोजनाको सोलार प्यानल र कन्ट्रोलरमा चट्याङले क्षति पु¥याएको ढुङ्ग्रे–तुन्तेस खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दिलकुमार गुरुङले जानकारी दिए । उनका अनुसार चट्याङले आयोजनाको मुख्य पम्पिङमै समस्या आएपछि ट्याङकीमा पानी तान्न सकिएन । जसका कारण स्थानीयले फेरी पुरानै अवस्थामा करिब १ घण्टा लगाएर कुवामा पुगि पानी भरेर ल्याउनुपर्ने बाध्यतामा पुगेको उनले बताए ।
उक्त खानेपानी आयोजनाबाट ढुङ्ग्रेका करिब ३५ घर परिवार, राष्ट्रिय माध्यामिक विद्यालय ढुङ्ग्रे र चण्डिभञ्ज्याङ स्वास्थ्य चौकीले खानेपानी प्रयोग गर्ने गरेको छ । तर लामो समय देखि नियमित खानेपानी आपूर्ती हुन नसक्दा स्थानीयसँगै विद्यालय र स्वास्थ्यचौकीलाई समेत अप्ठ्यारो परेको छ ।
खानेपानीकै अभावका कारण वर्षायाममा झरेको बलेनीको पानी संकलन गरी काम चलाउनु परेको राष्ट्रिय माध्यामिक विद्यालयका प्रध्यानाध्यापक विश्वनाथ गुरुङले बताए । ‘हामी विद्यार्थीलाई स्थानीय कुवाबाट भरेर खानेपानी ल्याउन लगाएका छौ भने शौचालयको लागि वर्षायाममा झरेको बलेनीको पानी संकलन गरि काम चलाईरहेका छौं ।’ –उनले भने ।
यता खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिल गुरुङले चट्याङले क्षति पु¥याएको सोलार प्यानल र कन्ट्रोलर मर्मतको लागि समितिसँग रकम नभएकोले स्थानीय वडा र पालिकालाई अनुरोध गरेको भएपनि अहिलेसम्म सुनुवाई नभएको गुनासो गरे । ‘हामीले पटक पटक ताकेता गर्दा पनि स्थानीय सरकारले हुन्छ मात्रै भन्छ तर मर्मत गरिदिएको छैन’ –उनले भने ।
तर इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले स्थानीयको गुनासो आउने बित्तिकै तत्कालै प्राविधिक पठाएर चट्याङले क्षति पु¥याएको कन्ट्रोलर मर्मतको लागि काठमाण्डौ पठाएको तर कम्पनीले समयमै मर्मत गरेर जडान नगरिदिएको कारण ढिलाई भएको बताए । ‘हामी स्थानीय जनताको समस्या समाधानका लागि सधैं संवेदनशील छौं तर कहिले काही प्राविधिक कारण ढिलाई हुने गर्छ’ –उनले भने ‘अब २–३ दिन भित्रैमा सामान ल्याएर जडान गरिदिने कुरा भएको छ, त्यसपछि समाधान हुनेछ ।’
यता वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले अब उक्त स्थानमा विद्युत् पुगेकोले सोलार सिस्टम हटाई छिट्टै विद्युतीय सिस्टम जडान गरि खानेपानीको दीर्घकालिन समस्याको समाधान खोजिने तयारी वडाले गरिरहेको बताए ।
इच्छाकामना गाउँपालिकाको एक घर एक धारा अवधारणा अन्तर्गत गाउँपालिकाको २५ लाख, जिल्ला समन्वय समिति चितवनको २५ लाख र बागमती प्रदेश सरकारको ५० लाख गरी १ करोड रुपैयाँको लागत साझेदारी सिरान ढुङ्ग्रे, माझ ढुङ्ग्रे र तुन्तेस गाउँका करिब ८० घरधुरीमा खानेपानी पु¥याउनका लागि दुई वर्ष अघि उक्त खानेपानी आयोजना निर्माण गरिएको थियो । आयोजनाले ढुङ्ग्रे र तुन्तेसमा २० हजार लिटर क्षमताको छुट्टाछुट्टै ५ वटा ट्याङ्की निर्माण गरिएको छ भने करिब ८० वटा घरमा घरैपिच्छे एक वटा धारा निर्माण गरिदिएको छ ।