गोरखा, २० असोज । गोरखा नगरपालिका ११ स्थित बाह्रकिलो प्रहरी चौकीमा कार्यरत ८ जना प्रहरीलाई सोमवार कोरोना पोजेटिभ देखिएसँगै चौकीलाई नै आइशोलेसन बनाइएको छ ।
यस अघि त्यहाँ कार्यरत एक प्रहरीलाई कोरोना पोजेटिभ देखिँदा त्यहाँ कार्यरत सबैको पिसिआर जाँच गरिएको थियो ।
‘परीक्षणका क्रममा थप आठ जनाको रिपोर्ट सोमवार पोजेटिभ आयो’ जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले भने ‘प्रहरीको दुई जना परिवारका सदस्य, थुनुवा र जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जनालाई पनि कोरोना लागेको छ ।’
कोरोना संक्रमित बढेपछि प्रहरीलाई बाह«किलो चौकीमा आइशोलेसन राख्ने उनले बताए । ‘सबै त्यहाँ बस्दै आएकाले हामीले थुनुवालाई पनि जिम्मा जमानीमा छाड्नेछौँ’, उनले भने, ‘कोरोना निको भएपछि हिरासतमा बसेकाहरु फेरि आउनुपर्छ ।’ प्रहरी हिरासतमा संक्रमण देखिएका दुई जना बहुबिबाह र यौन दुब्र्यवहार आरोपमा पक्राउ परेकाहरु रहेका छन् ।
बाह्रकिलो चौकी नै शिल गरिएकाले उक्त चौकी तत्कालको लागि आइशोलेसनको रुपमा प्रयोग भएको छ ।
कन्ट्याक्ट टे«सिङमा परेकाहरुलाई रिपोर्ट नआउँदा सम्म गोरखा नगरपालिका १० स्थित मनकामना बहिरा आबासीय विद्यालयको क्वारेन्टिनमा राख्ने तयारी गरेको एसपी गुरुङले बताए ।