गोरखा । सुत्केरी हुने दिन नजिकिँदै आएको गर्भवती र भर्खरै सुत्केरी भएकी आमाले गोरखा अस्पतालमै निशुल्क खान, बस्न पाउने भएका छन् । सुरक्षित सुत्केरी गराउन र बच्चा र आमाको स्वास्थ्य राम्रो बनाउनका लागि गोरखा अस्पतालले आफ्नै भवनमा प्रसुती आराम गृह स्थापना गरेको हो ।
गोरखा अस्पतालले आयोजना गरेको एक समारोहका बीच जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियारले बुधबार प्रसुती आराम गृहको उद्घाटन गरेकी हुन् ।
आमा र बच्चा दुवैको मृत्युदर घटाउन, सहज तरिकाले बच्चा जन्माउन र जन्मेको बच्चा तथा आमाको उचित स्याहार सुसारका लागि प्रसुतिगृह निर्माण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए । प्रसुती गृह संचालनका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट १५ लाख रुपैया बजेट विनियोजन भएर आएको उनले बताए ।
सो बजेटबाट यसअघि ओपिडी कक्षा संचालन गरिएको भवनको माथिल्लो तलामा प्रसुतीगृह स्थापना गरिएको छ । सुत्केरी हुनुभन्दा एक डेढ हप्ता अगाडि सो गृहमा बस्न आउने पाइने उनले जानकारी दिए । गरिब, विपन्न वर्ग, असहाय, दुर्गम क्षेत्रबाट आउने महिलाहरुलाई अस्पतालको डाक्टरको सिफारिसमा उक्त प्रसुती गृहमा राखिने उनले बताए ।
हाल प्रसुती गृहमा तीनवटा सुत्ने कोठा, एउटा विरामी कुरुवा कोठा, एउटा भान्सा कोठा र शौचालय व्यवस्था रहेको छ । सबै कोठामा आवश्यक सामग्रीहरु राखिसकेको र थप आवश्यक पर्ने सामग्रीहरु थप्दै जाने समेत उनले बताए ।
प्रसुती गृहमा बस्ने विरामी र कुरुवाका लागि खानपान सबै निशुल्क व्यवस्था गरिएको छ । खान पकाउन लगायतका प्रसुती गृहको व्यवस्थापनका लागि अस्पतालले दुई जना कर्मचारीको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गोरखा अस्पताललाई हाम्रो अस्पताल, राम्रो अस्पताल बनाउका लागि सबैले जोड दिनुपर्ने बताउदै आगामि दिनमा प्रसुुती आराम गृहलाई निरन्तरका र सेवाको थप विस्तारका लागि थप पहल भइरहेको श्रेष्ठले बताए ।
कार्यक्रममा गोरखा अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट हरिकुमार श्रेष्ठले गोरखा जस्तो हिमाली जिल्लामा धेरै टाढा र दुर्गम क्षेत्रबाट प्रसुती हुन लागेको महिलाहरु आउन समस्या हुने र बजारमा कोठा लिएर बस्दाधेरै खर्च लाग्ने भएकाले उनीहरुको सहजताका लागि अस्पतालले नै प्रसुतीगृह संचालनमा ल्याएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियारले आमा र बच्चाको सुरक्षाका लागि प्रसुती गृह संचालनमा ल्याउनु अत्यन्तै राम्रो काम भएको बताइन् । ग्रामीण क्षेत्रका विपन्न, असहाय, आर्थिक अवस्था कमजोर भएका महिलाहरु यसका लाभ लिनका लागि यसको बारेमा प्रचारप्रसारमा जोड दिनुपर्ने उनले बताइन् ।
गोरखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं ६ वडा सदस्य मनिषा परियार, अस्पतालका मेसु हरिकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी गोरखाका सभापति यदुविलास भट्टराई, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका सदस्यहरु, टोल विकास संस्थाका अध्यक्ष लगायतले मन्तव्य राखेका थिए ।दरौदीं दैनिकबाट