Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

चितवनमा विपश्यना ध्यानका आचार्य अक्कलध्वज गुरुङका दुई पुस्तक सार्वजनिक

चितवनमा विपश्यना ध्यानका आचार्य अक्कलध्वज गुरुङका दुई पुस्तक सार्वजनिक

इच्छाकामना न्युज

२, आषाढ २०८०
चितवनमा विपश्यना ध्यानका आचार्य अक्कलध्वज गुरुङका दुई पुस्तक सार्वजनिक
images

चितवन । चितवनमा विपश्यना ध्यानका आचार्य तथा धम्म चितवनका संस्थापक अक्कलध्वज गुरुङका दुई पुस्तक सार्वजनिक भएको छ ।

images
images

भरतपुर–७ बुद्धचोकको बुद्धगुम्बामा गुरुङका दुई पुस्तकहरु ‘बुद्ध र उनका उपदेश’ र ‘जीवनका केही संस्मरण’ को पूर्वप्रमुख जिल्ला अधिकारी डिकबहादुर गुरुङले आज सार्वजनिक गरेका हुन् ।

पहिलो कृति ‘बुद्ध र उनका उपदेश’ माथि शिक्षाविद्ध रमाकान्त सापकोटा र ‘जीवनका केही संस्मरण’ माथि अर्का चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले समालोचनात्मक टिप्पणी गरे । कार्यक्रममा सापकोटाले अक्कलध्वज गुरुङको ‘बुद्ध र उनका उपदेश’ कृति पूर्णतया बुद्ध शिक्षा र बुद्ध धर्मको प्रचारप्रसारमा केन्द्रित रहेको बताए । उनले भने, ‘ विपश्यना ध्यानको अभ्यास र बुद्ध धर्मको व्यवहारिक अभ्यासमा पुस्तक केन्द्रित रहेको छ । विपश्यना ध्यानको आचार्य रहेका गुरुङले पुस्तकमा हत्याहिंसा र कर्मकाण्ड भन्दा पनि मानव जीवनलाई सफल बनाउन बुद्ध शिक्षालाई कसरी अपनाउन सकिन्छ भनेर व्याख्या गरेका छन् । बुद्ध धर्मबारे अध्ययन अनुसन्धान गर्न चाहने जोकोहीका लागि यो एउटा पठनीय कृति बनेको छ ।’

Akkal-dhoj-2-Copy.jpg

त्यसैगरी अर्का समालोचक खनालले गुरुङको अर्काे पुस्तक ‘जीनका केही संस्मरण’ लेखकको जीवनको आरोहअवरोहका विषयमा केन्द्रित रहेको बताए । उनले भने, ‘ पुस्तक लेखकको वास्तविक जीवनसँग सम्बन्धित छ । लमजुङको थानसिङमा जन्मिएका गुरुङले प्रारम्भिक शिक्षा लमजुङ, चितवन हुँदै दरबार हाइस्कुलबाट एसएलसी गरेपछि अरुणोदय मावि गितानगरमा शिक्षकको रुपमा काम गरे । कांग्रेसको राजनीतिमा लागेका उनी विभिन्न अभियोग लागेपछि भागेर भारत पुगे । भारतमा केहीसमय सेनामा पनि कार्यरत रहेपछि नेपाल फर्किए । अहिले पूरै विपश्यनाको आचार्यको रुपमा जीवन बिताइरहेका छन् ।’ ९६ सालमा जन्मिएर आठ दशक बढी उमेर पार गरिसकेका उनी अहिले पनि विपश्यना ध्यानको प्रभावले स्वस्थ्य र सक्रिय व्यक्तित्व रहेको बताए ।

अहिले पनि विभिन्न विपश्यना केन्द्रहरुमा नागरिकलाई विपश्यना ध्यान सिकाउने आचार्य गुरुङका अनुसार विपश्यना एक ध्यान विधि हो । जसले मानिसलाई वर्तमानमा रहन वा जिउन सिकाउँछ । आजभन्दा लगभग २५–२६ सय वर्ष अगाडि गौतम बुद्धले अनुसन्धान गरी आमरूपमा स्थापित गराएका हुन् । आफ्नो श्वास–प्रश्वासको निरीक्षण गर्दै शरीर र चित्तमा उत्पन्न हुने परिवर्तनशील घटनाहरूलाई तटस्थ भावले निरीक्षण गर्दै चित्तशोधन र सद्गुण बुद्धिको अभ्यास विपश्यनामा गरिन्छ ।

गुरुङले भने, ‘विपश्यना राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना हो । दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई तनावमुक्त गर्ने एक सक्रिय अभ्यास हो । यसको अभ्यासबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन्छ ।’

लमजुङको थानसिङमा विसं १९९६ मा जन्मिएका अक्कलध्वज गुरुङ चितवनको सामाजिक र आध्यात्मिक क्षेत्रमा चिरपरिचित नाम नै हो । काठमाडौँको दरबार हाइस्कुलबाट एसएलसी उतीर्ण गरेपछि उनले लामोसमय गीतानगरको अरुणोदय र नारायणी माविमा २०३४ सालसम्म शिक्षकको रुपमा काम गरे । शिक्षण पेसा छाडेपछि उनी २०४१ सालमा विपश्यना ध्यानको साधना सुरु गरे । भरतपुरको विजयनगरमा धम्म चितवनको स्थापना गर्नमा गुरुङको विशेष योगदान रहेको छ । भरतपुर–७ प्रेमबस्तीका स्थायी बासिन्दा उनी अहिले चितवनमा बुद्धले प्रतिपादन गरेको विपश्यना ध्यानको आचार्यको रुपमा आफ्नो परिचय बनाएका छन् ।

images
प्रकाशित मिति :आषाढ २, २०८० शनिवार - २१:४५:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology