आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आफुले खाईपाई आएको मासिक पारिश्रमिकबाट गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालको लागि थाईराइड जाँच गर्ने मेसिन खरिद गरिदिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको अध्यक्षतामा आज बसेको कर्मचारीहरुको बैठकले कर्मचारीहरुको मासिक तलबमा केहि प्रतिशत रकम कट्टा गरी उक्त मेसिन खरिद गर्ने निर्णय गरेको हो ।
यसका लागि गाउँपालिकाको कार्यालय र मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीहरुको तह अनुसार न्युनतम १० देखि ५० प्रतिशतसम्म तलब कट्टा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । मेसिन खरिदका लागि करिब १० लाख रुपैयाँ लागत लाग्ने भएको पनि उनले बताए ।
गाउँपालिकामा गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत सबै क्षेत्रमा गरि हाल करिब १३५ जना करार र दरबन्दीका कर्मचारी कार्यरत छन् ।
गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आफ्नै पारिश्रमिकबाट अस्पतालको लागि थाइराईड मेसीन खरिद गरि सहयाग गर्ने निर्णय गरेपछि गाउँपालिका अध्यक्ष शुक्र चुमानले सबै कर्मचारीलाई धन्यवाद दिएका छन् । ‘यो निर्णयले अस्पतालको सेवा विस्तारमा सघाउ पुग्नेछ’ –उनले भने ।