जलविरे । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित जलविरेमा रहेको जिल्लाकै चर्चित पर्यटकीय स्थल लामो झरनामा अहिलेसम्म आउने पर्यटकको संख्यामा रेकर्ड ब्रेक भएको छ । यो शनिबार झरनामा एकैदिन १३ सय भन्दा बढि संख्यामा पर्यटक आएपछि यसअघिको रेकर्ड ब्रेक भएको हो ।

लामो झरना पर्यटन विकास समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार शनिबार एकैदिन १ हजार २ सय ६५ जनाले टिकट काटेरै झरनाको अवलोकन गरेका छन् । स्थानीय र अन्य केहिलाई टिकट शुल्क नलिने हुदाँ शनिबार झरना प्रवेश गर्नेको संख्या करिब १५ सय हाराहारी भएको समितिका अध्यक्ष देव कुमार गुरुङले बताए । उनका अनुसार यस अघि २०७२ सालको नयाँ वर्षको दिन १ हजार १ सय ५५ जनाले एकैदिन झरना अवलोकन गरेका थिए । सो रेकर्ड शनिबार तोडिएको छ ।

गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य रुपमा रहेको लामो झरना अवलोकनका लागि आउने पर्यटकहरुसँग प्रवेश शुल्क लिएर गाउँपालिकाले वार्षिक करिब २५ लाख भन्दा बढि कमाई गर्ने गरेको छ । यसपटक वैशाख अन्तिमसम्ममा करिब २४ लाख रुपैयाँ आम्दानी गरिसकिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार यो वर्ष असान्तसम्ममा गाउँपालिकाले झरनाबाट मात्रै करिब ३० लाख रुपैयाँ आम्दानी गर्न सक्ने सम्भावना रहेको अध्यक्ष गुरुङले बताए ।
