आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । आज गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकालाई मङ्गलबार पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
गाउँपालिका भित्रका १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए । उनका अनुसार पालिकाका ६ वटा वडाका ६ सय ९९ जना बालबालिकाले पूर्ण खोप पाएको छ । यस बिचमा गाउँपालिकाले घरघरमा पुगेर खोप पाए नपाएको सर्वेक्षण गरेकोमा दुई जना छुटेको पाइएको र उनीहरुलाई पनि खोप लगाइएको थियो ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन् । स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले चुमानलाई प्रमाणपत्र हस्तान्तरण गरे । सो अवसरमा चुमानले पूर्ण खोप सुनिश्चित घोषणालाई दिगोपना बनाउनेतर्फ ध्यान दिने बताए ।