आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ५ मा पर्ने गुरुङ गाउँ भटिश्वरामा १५ वर्षपछि पुनः घाँटु नाच नचाउने तयारी भएको छ । गुरुङ समुदायमा प्रचलित लोपोन्मुख अवस्थामा पुगेको घाँटु नाँच भटिश्वरामा १५ वर्षपछि पुनः नचाउन लागिएको हो।
स्थानीय युवा एवं लोक गायक रन्जित गुरुङ र कन्यादेवी माविका प्रध्यानाध्यापक सुर्यमानसिंह गुरुङको सक्रियतामा भटिश्वरा गाउँमा धेरै पछि घाँटु नाच सुरु हुन लागेको हो ।
गुरुङ सस्कृति अनुसार माघ महिनामा बसन्त पञ्चमीबाट शुरु भएको घाँटु नाँच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । पछिल्लो समय घाँटुनाच पुस्तान्तरण हुन नसक्दा हराउदै गएको छ ।
सती र बाह्रमासे गरी घाँटु नाँच दुई प्रकारको हुन्छ । सतिघाँटु श्रीपञ्चमीमा शुरु भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे घाँटु जुन बेलापनि नाच्ने गरिन्छ । गुरुङ समूदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाँटु नृत्य पनि ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउमा नाचिने घाटुको कथा भने एउटै हुने घाटु गुरुहरु बताउँछन् ।
सत्रौँ सताब्दीदेखि घाँटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजश्वला नभएका दुईजना कन्यालाई स्थानीय भेषभूषामा सजाई मध्ययुगिन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाँटु नृत्यको प्रारम्भ गरिन्छ । लमजुङ कास्की लगायतका जिल्लाहरुमा २ कन्यालाई मात्र नचाईने गरिए पनि तनहुँ चितवन गोरखा लगाएतका स्थानहरुमा ३ कन्या वा विजोर संख्या पारी जति पनि कन्याहरुलाई समावेश गरेर घाँटु नचाईने गरिन्छ ।
विशेषगरी पहिलोपटक घाँटु नाच्ने कन्याहरुलाई पहिले नै अभ्यास गराउनुपर्ने भएकोले आफुहरुले हप्ता दिन अघि देखि नै कन्याहरुलाई अभ्यास गराईएको भटिश्वरामा पुनः घाँटु नाँच जगाउनका लागि सक्रियता लिईरहेका रन्जित गुरुङले बतए । सदियौ देखि पुरानो साँस्कृतिक नाँच भएपनि पछिल्लो पुस्ताको चासो नहुनु र पुरानो पुस्ता सकिदै जादा लोप हुदै गएकोले यसलाई जोगाउनकै लागि लागि परिरहेको उनले बताए।
अहिले रन्जित आपैmले घाँटु गीत सिकेर गाउँमा घाँटु नाँच नचाउन लागिएको उनले बताए । उनका अनुसार भटिश्वरमा वैशाख २२ गते चण्डिपूर्णीमाको दिन देखि सुरु हुने घाँटु नाँच वैशाख २५ गतेसम्म नचाईनेछ ।
घाँटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, श्रृंगार, बिहेवारी, शिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गर्ने गरिन्छ । गुरुङ समूदायको महत्वपूर्ण संस्कृतिको रुपमा रहेको घाँटुनाच पछिल्लो समय उत्सवको रुपमा पनि मनाउन थालिएको छ । परम्परागत संस्कृतिको संरक्षण गर्न तथा गुरुङहरुको पहिचानलाई जोगाउन विशेष महत्वका साथ विभिन्न मेला महोत्सवमा पनि घाँटु नाच प्रदर्शन गर्ने गरीएको छ ।