इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं. २ मा अवस्थित तेर्से, भोर्ले लगायतका गाउँहरुमा लिफ्टिङ प्रविधिबाट खानेपानीको व्यवस्था गर्न लागिएको छ । गाउँपालिकाले संचालन गरिरहेको ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत वडा नं. २ मा रहेको बिप्राङ, तेर्से, भोर्ले, डाडाँगाउँका लागि सो प्रविधिबाट खानेपानीको व्यवस्था गर्न लागि लागिएको हो ।
उक्त खानेपानी आयोजनाको सोमबारका दिन इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले शिलान्यास गरेका छन् । वाईन टु वाटर संस्थासँगको सहकार्यमा निर्माण हुन लागेको आयोजनामा संस्थाको तर्फबाट ६५ प्रतिशत, इच्छाकामना गाउँपालिकाको २५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहनेछ ।

करिब ५८ लाख लागतमा निर्माण हुन लागेको आयोजना सम्पन्न पश्चात ४२ घरधुरी आयोजनाबाट प्रत्यक्ष प्रभावित हुने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । उनका अनुसार यहि जेठ महिना भित्रै आयोजना सम्पन्न भै उपभोक्ताले शुद्ध खानेपानी पाइनेछ ।
यस्तै आगामी आर्थिक वर्षमा पुनः इच्छाकामना गाउँपालिका वडा नं. २ कै दुम्किन, मायाटार, घुर्केस लगायतका गाउँहरुको १३० घरधुरीको लागि खानेपानी आयोजना निर्माण गर्ने तयारी भैरहेको पनि अध्यक्ष गुरुङले बताए ।