Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

गाउँ छाडेर बेँसी झरेपछि रित्तियो दाहाखानीको लखनकोट गाउँ

गाउँ छाडेर बेँसी झरेपछि रित्तियो दाहाखानीको लखनकोट गाउँ

images

पत्रपत्रिका

१७, बैशाख २०८०
गाउँ छाडेर बेँसी झरेपछि रित्तियो दाहाखानीको लखनकोट गाउँ
images

दाहाखानी । खेतीपाती, पशुपालन तथा सहज दैनिकीका लागि बेँसी झर्न थालेपछि लखनकोट गाउँ बाँझो बारीमा परिणत भएको छ ।

इच्छाकामना गाउँपालिकाको वडा नं ७ मा पर्ने यो गाउँका स्थानीयले आफ्नो नाममा भएको नम्बरी जग्गासमेत छाडेर थुप्रै वर्षपहिले स्याङ्दी, ढाँटबारी, भालुमारा, गर्दास्लगायतका क्षेत्रमा बसाइँसराई गर्दा गाउँमा पाती फुलिरहेको छ । केही व्यक्तिहरु शक्तिखोर, बाईसबिघालगायतका क्षेत्रमा बसाइँ सरे । स्थानीयले आफ्नो नामको सम्पत्ति नै छाडेर गएपछि कतिपयको बारीमा सालका बिरूवा हुर्किइरहेका छन् ।

लखनकोटबाट बेँसी झर्दा खेतीपातीमा पनि सहज र बस्तुभाउ पाल्नेदेखि बजार पुग्न पनि धेरै सहज हुने हुँदा गाउँका मानिसहरु बिस्तारै तलतल झर्दै जाँदा पुरानो गाउँ जङ्गलमा परिणत भएको इच्छाकामना–७ का वडाअध्यक्ष बमबहादुर थापामगरले जानकारी दिए । उनका अनुसार यो वडामा करिब ८० प्रतिशत मानिस ऐलानी जग्गामा बसोवास गर्छन् । तर, लखनकोटमा नम्बरी जग्गामा बस्नेहरु पनि भौगोलिक विकटताका कारण ऐलानी जग्गामा बस्दै आएका उनले बताए ।

उनका अनुसार लखनकोट क्षेत्रमा मात्रै कम्तिमा पनि १५ विघाभन्दा बढी नम्बरी जग्गा छाडेर यहाँका स्थानीय बेँसी झरेका छन् । गाउँमा मान्छे बस्न छाडेपछि पाखोबारीमा सालघारी फैलिएको छ भने खेतीयोग्य जमिन झाडी बनेको छ । गाउँका मानिसहरु पहिलेदेखि नै खेतीपातीका लागि बेँसी धाउँथे । पछि सुविधा खोज्दै जाँदा ऐलानी भए पनि आफ्नै बारी भएको बेँसी झर्दै जाँदा पुरानो गाउँ नै रित्तिएको हो ।

स्याङ्दीका स्थानीय दुर्गा थिङका अनुसार लखनकोट क्षेत्रको जग्गा २०२६ सालमा नापी भएको हो । तर, खानेपानीको अभाव, बजार धाउने समस्या, यातायातको असुविधालगायतका कारण स्थानीयले गाउँ छाड्न थालेपछि पहिलेको बस्ती अहिले झाडीमा परिणत भएको उनले बताए । उनका अनुसार करिब २०३६ सालआसपाससम्म लखनकोटमा मानिसहरु बसोवास गर्थे । तर, असुविधाकै कारण स्थानीयले गाउँ छाड्न थालेपछि गाउँ पनि पातलो हुँदै गयो । बस्ती घट्दै जाँदा बाँकी भएका घरपरिवारले पनि असुरक्षा महसुस गर्दै उनीहरु पनि गाउँबाट विस्थापित भएपछि गाउँ नै जङ्गल बनेको उनको भनाइ छ ।

‘अहिले बसेको ठाउँमा खेतीपाती गर्न होस् या पशुपालन गर्न होस्, पुरानो गाउँमा भन्दा धेरै सजिलो छ,’ उनी भन्छन्, ‘त्यतिमात्र होइन, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुलीबत्ती तथा सडक मार्गको पहुँचले पनि धेरै सुविधा दिएको छ ।’ त्यसैले बेँसी झरेका गाउँले पुरानो गाउँ फर्किन नचाहेको उनको बुझाइ छ ।

उनका अनुुसार यहाँका स्थानीयले आफू नबसे पनि यहाँको बारी भने अर्कैलाई बेचिसकेका छन् । ‘गाउँमा काम नलागेको बारीमा बजारियाहरुले लगानी गरिसकेका छन्,’ उनले भने, ‘किनकि यहाँका स्थानीयलाई नम्बरी भए पनि यो बारीको मह¤व भएन । बजारियाले भोलिका लागि भनेर पाखो बारीमा लगानी गरे ।’ बस्ती नै नभएपछि यो ठाउँको विकास हुने कुरै भएन । त्यसैले बेँसी झरिसकेका सर्वसाधारणलाई अहिले पुरानो बस्ती भएको ठाउँ पुग्न पनि अहिले करिब एक घन्टा पैदल हिँडेर डाँडो उक्लिनुपर्छ । चितवनपोष्ट दैनिकबाट

images
प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - ०९:०३:४३ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology