Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गोरखाको शहिद लखन गाउँपालिकामा उत्पादनमा आधारित अनुदान वितरण सुरु

गोरखाको शहिद लखन गाउँपालिकामा उत्पादनमा आधारित अनुदान वितरण सुरु

images

इच्छाकामना न्युज

३, बैशाख २०८०
गोरखाको शहिद लखन गाउँपालिकामा उत्पादनमा आधारित अनुदान वितरण सुरु
images

घैरुङ । गोरखाको शहिद लखन गाऊँपालिकाले कृषकहरुलाई उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सुरु गरेको छ । पालिकाले केही साता अघिमात्रै उत्पादनमा आधारित अनुदान वितरण सम्बन्धी कार्यविधि पारित गरी कार्यक्रम सुरु गरेको हो ।

कार्यविधिअनुसार वडा नम्वर ३ रामशाहघाटको हाटबजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानहरुलाई उनीहरुले गरेको उत्पादनका आधारमा अनुदान वितरण गरिएको हो । स्थानीय नयाँपुल कृषि उपज उपभोक्ता सहकारी संस्थाले सञ्चालन गर्दै आएको हाटबजारमा बिक्रीका लागि ल्याएको कृषि उत्पादनको परिमाणका आधारमा प्रतिकिलो २ रुपैयाँका दरले अनुदान दिइएको गाऊँपालिकाको कृषि शाखाका प्रमुख ऋषि रोकाले बताए । पहिलो चरणमा गोलभेंडा, करेला, काउली, चिचिण्डा र घिरौंला उत्पादन गर्ने कृषकलाई अनुदान दिइएको उनले जानकारी दिए ।

पाँचवर्षदेखि सञ्चालनमा रहेको हाटबजारमा बिक्रीका लागि ल्याइने कृषि उत्पादनको परिमाण घट्दै गएको पाइएकाले आसपासका किसानलाई प्रोत्साहित गर्न त्यहीँबाट अनुदान वितरण सुरु गरिएको रोकाको भनाइ छ । नियमित रुपमा हाटबजारमा कृषि उत्पादन बिक्रीका लागि ल्याउने ४२ जना किसानलाई उत्पादनमा आधारित अनुदान र कृषि उपज ढुवानी अनुदान उपलब्ध गराइएको हो ।

किसानले प्रतिकिलो दुई रुपैयाँका दरले घटिमा तीनसयदेखि बढिमा पाँचहजार छसय रुपैयाँसम्म अनुदान पाएका छन् । किसानलाई अनुदान वितरण गर्दै गाऊँपालिकाका अध्यक्ष रमेश थापामगरले आगामी वर्षहरुमा पालिकाका सबै वडामा उत्पादनमा आधारित अनुदान कार्यक्रम विस्तार गरिने बताए ।

अहिले ५ प्रकारको तरकारी बालीमा मात्रै अनुदान दिइएकोमा अब अन्य कृषि उपज र पशु चौपाया उत्पादनको आधारमा पनि अनुदान दिइने उनको भनाई छ । कृषकहरुले उचित मूल्य प्राप्त गर्न नसक्ने तर बिचौलियाले प्रशस्त मुनाफा लिने परिपाटीको अन्त्यका लागि पालिकाका अन्य ठाऊँमा पनि हाटबजार सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष थापामगरले जानकारी दिए ।

टाठाबाठाले कागजपत्र मिलाएर कृषि अनुदान लिने तर उत्पादनमा नलाग्ने लगायतका कृषि क्षेत्रका विकृति अन्त्य गर्नसकेमात्रै पनि कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उनले बताए । बजारको मागको लेखाजोखा गरेर कृषि उत्पादन गर्न पनि उनले किसानलाई आग्रह गरे । सोही कार्यक्रममा किसानहरुलाई बिऊविजन पनि वितरण गरिएको छ ।

यस्तै रामशाहघाटस्थित हाटबजारमा नियमित रुपमा कृषि उपज बिक्रीका लागि ल्याउने कृषकहरु वडा नम्वर २ का इन्द्रकुमारी थापा, सविता नेपाली, आशाकुमारी गुरुङ र मनकामना कृषक महिला समूहलाई पुरस्कृत गरिएको छ ।

नयाँपुल कृषि उपज उपभोक्ता सहकारी संस्थाका अध्यक्ष ऋषि वयलकोटीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्वर २ का अध्यक्ष सकुन थापा, ३ का अध्यक्ष दिपक पाण्डे, गाऊँपालिका कृषि शाखाका प्रमुख ऋषि रोका, गोरखा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष मित्राकुमारी परियार, सहमति नेपालका कृषि प्राविधिक भूमिप्रसाद दाहाल, वडा नम्वर २ का वडा सदस्यहरु झक्कल थापा, ऋषिराम कट्टेल, रेक्सना थापा, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबाबु थापा, सहकारीकी कोषाध्यक्ष कल्पना बयलकोटीले मन्तब्य ब्यक्त गरेका थिए ।

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - ०९:३६:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology