Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

लक्ष्य अनुसार राजस्व रकम उठ्न सकेन, सरकारी खर्च धान्नै समस्या

लक्ष्य अनुसार राजस्व रकम उठ्न सकेन, सरकारी खर्च धान्नै समस्या

इच्छाकामना न्युज

२३, चैत्र २०७९
लक्ष्य अनुसार राजस्व रकम उठ्न सकेन, सरकारी खर्च धान्नै समस्या

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० का प्रत्येक महिना राजस्व लक्ष्यअनुसार नउठ्दा सरकारी खर्च धान्न समस्या परेको छ । अपेक्षाअनुसार वैदेशिक सहायता र ऋण उपलब्ध नहुँदा पनि यसको प्रत्यक्ष प्रभाव विकास निर्माणमा पनि देखिँदै गएको छ ।

images

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । तर, महालेखा नियन्त्रण कार्यालयका अनुसार चैत २० गतेसम्म ६ खर्ब ५८ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

जसमा कुल राजस्वमार्फत ६ खर्ब २२ अर्ब ७६ करोड रुपैयाँ संकलन भएको हो भने अन्य प्राप्तिमार्फत ३५ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

आर्थिक वर्षको तीन महिना बाँकी रहँदा यो राजस्व संकलन लक्ष्यभन्दा न्यून हो । सरकारले फागुन मसान्तसम्म आठ खर्ब ५१ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

Rajaswa 8 month figer1680714533.png

लक्ष्य भेट्टाउन सरकारले अब बाँकी तीन महिनामा सात खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्ने छ । तर, यो लक्ष्य भेट्टाउन सम्भव नभएको त्रिभुवन विश्व विद्यालय अर्थशास्त्र विभागका सह–प्रध्यापक डा. रेशम थापा बताउँछन् ।

सरकारले अब खर्च कटौती गर्नुपर्ने समय आएको थापाले बताए । तर, राजस्व बढाउन निजी क्षेत्रलाई साथमा लिनुपर्ने पनि उनले सुझाव दिए ।

“अहिलेको अफ्ठ्यारो अवस्थामा खर्च कटौती गर्न आवश्यक छ । यहि बेलामा प्रशासनिक, कर्मचारी, सुरक्षा निकाय, शिक्षक के–के कहाँ–कहाँ घटाउन सकिन्छ, त्यो केही नहेरी मास्टर प्लान ल्याएर घटाउनु पर्छ,” उनले भने, “अहिले खर्च घटाउने सुनौलो मौका पनि हो । सबै बाढीहरूले बगाउँदैनन्, पौडिन पनि सिकाउँछन् । सबै झरी पानीले भिजाउँदैन, सफा पनि गर्छ । अहिले आएको आर्थिक संकट, नयाँ कुरा सिक्ने र नयाँ कुरा इम्प्रिमेन्ट गर्ने तथा आँट गर्ने बेला पनि हो ।”

निजी क्षेत्रलाई खुसी पारेर राजस्व बढाउनु पर्ने पनि उनले सुझाए । निजी क्षेत्र अहिले समस्यामा परेको र आम्दानी घटेको समयमा छलफल गरेर दिनुपर्ने सुविधा पछि दिएर भएपनि अहिले कर तिर्न प्रेरित गर्ने पर्ने थापाको भनाइ छ । अहिले प्रदेश र स्थानीय तहमा जाने पैसा स्टक बसेकाले पनि समस्या निम्तिएको उनले बताए ।

यो पैसा बजारमा ल्याउन सके केही हदसम्म समस्यामा सहज हुने उनको भनाइ छ । “ठूलो अमाउन्ट नभएपनि प्रदेश र स्थानीय सरकारको केही पैसा दुईवटा कारणले स्टक बस्यो । एउटा कारण स्थानीय सरकारलाई खर्च गर्ने र घाटा बजेट बनाउने वातावरण नबनाइदिने हुँदा सबै स्थानीय तहको पैसा स्टक बसेको छ," उनले भने, “उनीहरूसँग केही सुविधासहितको सर्तमा सरकारीस्तरको सम्झौता गर्नुपर्छ । स्थानीय सरकारहरूसँग बसेको जुन फिक्स डिपोजिट छ, त्यो चलाउने हो कि ? यसले एउटा सत्ता र अर्काे सत्ताबीच कोडिनेसन गर्न सहयोग पुग्छ ।”

Circal Rajaswa1680714532.png

यस्तो पैसाले स्थानीय सरकारलाई पनि चलायमान बनाउने थापाको भनाइ  छ । पछिल्लो समय राजस्व संकलन कम भएपछि विकास निर्माणमा खर्च गर्ने पैसा पनि नभएको अर्थ मन्त्रालयले बताउँदै आएको छ । पैसा नभएकोले पनि निर्माण क्षेत्रको भुक्तानी समयमा हुन नसकेको स्थिति छ ।

समग्र राजस्व संकलनमा कमी आएको भएपछि आन्तरिक राजस्वमा भने सुधार हुने आन्तरिक राजस्व विभागका महानिर्देशनक दीर्घराज मौनाली बताउँछन् । उनका अनुसार अहिले समस्या भन्सारतर्फ देखिएको छ । आयात घट्दा यस्तो समस्या देखिएको उनको भनाइ छ ।

“आन्तरिक राजस्वतर्फ लक्ष्यअनुसार उठाउन नसकिएको भएपनि गत वर्षको हाराहारी उठेको छ । यो वर्षको अन्त्यसम्म राजस्व गत वर्षकाभन्दा सुधार हुन्छ,” उनले भने ।

तरलताको अभावले गर्दा पनि अहिले समस्या निम्तिएको मौनाली बताउँछन् । तरलता सहज नहुँदा केही हदसम्म आन्तरिक राजस्व संकलनमा प्रभाव परेको उनले बताए । व्यावसायिक पारदर्शिताका लागि बिल बिजकको महत्वपूर्ण भूमिका हुने हुँदा सबैले बिल विजक प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।  

R.Shirsak waij Fagun1680714532.png

सबैभन्दा कम राजस्व संकलन कात्तिकमा
आठ महिनाको अवधिमा सबैभन्दा कम राजस्व संकलन कात्तिकमा भएको छ । अर्थ मन्त्रालयका अनुसार कात्तिकमा मात्र ६० अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

सरकारले कात्तिकमा ९५ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, भदौमा ८६ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा सो महिना ७२ अर्ब दुई करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

साउनमा भने लक्ष्यको साढे ९६ प्रतिशत राजस्व संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । साउनमा ९३ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ९० अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

पुसमा सबैभन्दा बढी राजस्व
हरेक आर्थिक वर्ष सकिएको तीन महिनाभित्र व्यापारी तथा व्यवसायीले कर कार्यालयमा करचुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने अनिवार्य नियम छ । यदि पहिलो तीन महिनामा लेखा परीक्षण नसकिए उनीहरूले तीन महिनाको ग्रेस अवधि पाउने गर्छन् । त्यसकारण पुस मसान्तसम्म कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ ।

आर्थिक वर्षको पुस महिनामा कर बढी उठ्ने गरेको छ । पुस महिना आयकर उठाउने प्रमुख महिना पनि हो । त्यसैले गर्दा चालु आर्थिक वर्षको पुसमा एक खर्ब ८७ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

यो महिना भन्सारबापत १५ अर्ब ३४ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ भने मूल्य अभिवृद्धि करबापत २३ खर्ब ६९ करोड, अन्तःशुल्कबापत ११ अर्ब २४ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ ।

त्यस्तै, शिक्षा सेवा शुल्कबापत १२ करोड ८५ लाख रुपैयाँ, गैरकर राजस्वबापत २८ अर्ब २९ करोड र अन्य प्राप्तिबापत तीन अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । सरकारले अन्य प्राप्तिबापत कति राजस्व उठाउने भनेर लक्ष्य राखेको हुँदैन । यो आकस्मिक प्राप्ति राजस्व हो ।

rajaswo1680714517.JPG

 

 

 

images
प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - ०७:३१:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology