Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

ज्यानदालादेखि सिराइचुलीसम्म जाने बाटोमा सिँढी बनाउँदै इच्छाकामना गाउँपालिका

ज्यानदालादेखि सिराइचुलीसम्म जाने बाटोमा सिँढी बनाउँदै इच्छाकामना गाउँपालिका

images

इच्छाकामना न्युज

२१, चैत्र २०७९
ज्यानदालादेखि सिराइचुलीसम्म जाने बाटोमा सिँढी बनाउँदै इच्छाकामना गाउँपालिका
images

सिराइचुली । गर्मी मौसमको सुरूवातसँगै सिराइचुली डाँडो उक्लिनेको संख्या पनि बढ्दै गएको छ। चितवन जिल्लाकै सबैभन्दा उच्च पहाड भएकोले यहाँबाट देखिने मनोरम दृश्य हेर्न र शीतलता प्राप्त गर्नका लागि मानिसहरु डाँडो उक्लिन्छन्। यही विषयलाई मध्यनजर गर्दै केही वर्षदेखि स्थानीय सरकारले बाटो निर्माणको काम गर्दै आएको छ।

गाउँपालिकाले वडा नं–१ मा पर्ने ज्यानदाला गाउँदेखि करिब एक किलोमिटर बाटो बनाइसकेको छ। पालिकाका अध्यक्ष दानबहादुर गुरूङका अनुसार ज्यानदाला गाउँबाट चुलीको टुप्पोसम्म पुग्ने करिब आधा बाटो सिँढी लगाइसकिएको छ। ‘बाटोलाई चुलीसम्म पुर्‍याउने पालिकाको योजना छ’, उनले भने, सोहीअनुरुप चालू आर्थिक वर्षका लागि १२ लाख रूपैयाँको काम भएको छ।’ यसपालि तीन सय मिटर बाटोमा सिँढी लगाइएको हो।

आगन्तुकको आगमन बढ्दै गएको हुँदा भइरहेको गोरेटो बाटोलाई मर्मत गरेर यात्रा सहज बनाउने प्रयास गरिएको उनको भनाइ छ। ‘अघिल्लो स्थानीय सरकारकै पालादेखि यहाँ बाटो मर्मत गर्ने कामको सुरूवात भएको हो’, उनी भन्छन्, ‘हामीले पनि त्यसैलाई निरन्तरता दिँदै आएका छौँ।’

बाँकी रहेको बाटो मर्मतको कामले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने उनले बताए। जिल्लाकै ऐतिहासिक क्षेत्र भएकोले यसको संरक्षणमा गाउँपालिकाले चासो दिँदै आएको उनको भनाइ छ। ‘इच्छाकामना मन्दिर, जलविरे झरना, सिराइचुली, उपरदाङगढीलगायतका स्थान गाउँपालिकाकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो’, पालिकाका अध्यक्ष गुरूङले भने, ‘त्यसैले यी प्राकृतिक सम्पदाको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व पनि हो।’

कालिका नगरपालिकाको शक्तिखोर बजारबाट वडा नं–१० को सिद्धि हुँदै उकालो लागेपछि इच्छाकामना गाउँपालिकाको वडा नं–१ को चौकीडाँडा आइपुगिन्छ। चौकीडाँडाबाट पनि सवारीसाधनमा करिब २० मिनेट यात्रा गरेपछि ज्यानदालासम्म आइपुगिन्छ, जहाँ आएपछि मोटरबाटो टुङ्गिन्छ। डाँडोसम्मको बाटो पुर्‍याउँदा सिराइचुलीकै मह¤व घट्ने हुँदा ज्यानदालासम्म मात्रै मोटरबाटो खनेर छाडेको स्थानीय बताउँछन्।

‘पहाडको टुप्पोमा घुम्न आउनेलाई यति त हिँडाउनै पर्‍यो नि’, स्थानीय होमबहादुर चेपाङ भन्छन्, ‘कम से कम यहाँसम्म आइपुगेपछि वरिवरिका गाउँ र वस्तुस्थितिबारे पनि बुझून्।’ बरू डाँडो उक्लिनेहरुका लागि ज्यानदाला गाउँमा नै खानपान र बसोवासको व्यवस्था मिलाउनुपर्ने चुनौती रहेको उनी बताउँछन्। ‘हामीले गाउँमा खाने, बस्ने सुविधा दिन सकेको खण्डमा अझ राम्रो हुन्थ्यो’, उनी भन्छन्, ‘पालिकाले सघाएको खण्डमा हामी त्यो व्यवस्था मिलाउन पनि तयार छौँ।’

ज्यानदालाकै स्थानीय सुस्मिता चेपाङ भने केही वर्षपछि आफैँ होमस्टे सञ्चालन गर्ने योजनामा छिन्। ‘अहिले पनि हाम्रो घरलाई होमस्टे भनेर आउनुहुन्छ’, उनी भन्छिन्, ‘तर पाहुना राख्ने कुनै तयारी नभएकोले राख्न सकेका छैनौँ। केही वर्षपछि होमस्टे नै चलाउने सोच बनाएका छौँ।’ गाउँमा चेपाङको घर भए पनि चिटिक्क देखेपछि सुस्मिताकै घरलाई होमस्टे भनेर झुक्किने गरेका छन्।

गाउँमा खानेपानीको सुविधा भइसकेको हुँदा होमस्टेका लागि पहिलेजस्तो समस्या नरहेको उनको भनाइ छ। गाउँलेको योजना पनि चेपाङ समुदायको रैथाने परिकार खुवाएर पाहुना राख्ने रहेको उनी बताउँछिन्। ‘त्यसका लागि हामीले पाहुनालाई विश्वास दिलाउन सक्नुपर्छ’, उनी भन्छिन्।

सिराइचुलीको विकासमा गाउँपालिका मात्र नभई स्थानीयले पनि चासोका साथ हेरिनुपर्ने भरतपुरबाट घुम्न गएकी प्रेमकुमारी आले बताउँछिन्। ‘यो ठाउँको विकासमा स्थानीय सरकारले मात्रै विकास गरेर हुँदैन। त्यसको संरक्षणमा यहीँका स्थानीयको भूमिका प्रमुख हुन्छ’, उनी भन्छन्, ‘अहिले बाटो बनाउँदै रहेछन्, अब यसको संरक्षण त स्थानीयले नै गर्नुपर्छ।’ चिसो वातावरण र सबैभन्दा अग्लो ठाउँमा भएको हुँदा यहाँ आउँदा बजारको कोलाहल र गर्मीबाट मुक्ति पाएको उनले बताइन्।

images
प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - ०७:१३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology