Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको भालुमारामा निर्माणधिन नमुना बस्तीको घर ‘डिजाइन’ परिवर्तन गरेर बनाइँदै

इच्छाकामनाको भालुमारामा निर्माणधिन नमुना बस्तीको घर ‘डिजाइन’ परिवर्तन गरेर बनाइँदै

images

इच्छाकामना न्युज

१३, चैत्र २०७९
इच्छाकामनाको भालुमारामा निर्माणधिन नमुना बस्तीको घर ‘डिजाइन’ परिवर्तन गरेर बनाइँदै
images

भालुमारा । इच्छाकामना–७, भालुमारास्थित संगम टोलका सुकुमबासी बस्ती निर्माणको क्रममा छ । तर, समयमै घर निर्माण नगरिदिँदा स्थानीयहरु हावाहुरीको जोखिम मोलेर त्रिपालमुनि बसिरहेका छन् । दुई दिनमा बन्छ भनेर घर भत्काए पनि महिनादिनसम्म पनि घर तयार नभएको स्थानीयको गुनासो छ । ‘नयाँ घर पाइन्छ भनेर पुरानो छाप्रो भत्काइयो, अहिलेसम्म बाहिरै बस्नु परेको छ’, स्थानीय सीताराम मोक्तान भन्छन्, ‘घर जस्तो बनाए पनि समयमै बनाइदिए हुन्थ्यो ।’

तर, बन्दै गरेको घरको ‘डिजाइन’ भने गाउँलेलाई मन परेको छैन । ‘घर त बनाइदियो, तर भुइँ ढलान पनि छैन । घर पनि त्यत्ति भरपर्दो लागेन’, स्थानीय सुकमाया परियारले भनिन् । २०७२ सालको भूकम्पले तर्साएको याद ताजै छ, त्यसैले पनि त्यस्तै खालको विपद् आए कहाँ जाने भन्ने चिन्ता उनलाई छ ।

सुरक्षित पनि नहुने र बाछिटो पर्दा पानी छिर्ने सम्भावना रहेको हुँदा गाउँलेले यो डिजाइन मन नपराएका हुन् । स्थानीयबाट व्यापक गुनासो आएपछि वडा अध्यक्ष बमबहादुर थापामगरले डिजाइन परिवर्तन गरेरमात्रै अन्य घर निर्माण गरिदिन ठेकेदार कम्पनी र इन्जिनियरलाई भनेका थिए । यो कुरा पालिकामा समेत जानकारी गराएका थिए ।

namuna basti 2.jpg

अन्ततः गाउँपालिकाले स्थलगत अवलोकन गरेपछि कार्यपालिकाको बैठक बसेर बन्न बाँकी रहेका घरलाई डिजाइन परिवर्तन गरेरमात्रै निर्माण गर्ने निर्णय गरेको वडा अध्यक्ष मगरले जानकारी दिए । ‘दुई/चार दिनमै घर तयार हुन्छ भन्दै इन्जिनियरले यस्तो डिजाइन गरेर घर बनाउन थाल्यो’, उनले भने, ‘तर निर्माण सकिँदासम्म घर हेर्दा असुरक्षित लाग्यो । गाउँलेबाट पनि भएन भन्ने गुनासो आएपछि पालिकाबाट डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ ।’

उनका अनुसार डिजाइन परिवर्तनपछि आइतबारबाटै नयाँ जग खन्ने कामसमेत सुरू भएको छ । ‘बनिसकेको घरलाई भत्काउने कुरा आएन’, उनले भने, ‘बन्न बाँकी रहेका घरलाई चाहिँ अर्कै डिजाइनमा निर्माण गर्ने निर्णय भएअनुसार नै जग खन्न थालिएको छ ।’ यसपटक बन्न लागेको १९ वटा घरमध्ये करिब १० घर निर्माण भइसकेका छन् । सिमेन्टको पोलको खापामा सिमेन्टकै फलेक राखेर घर निर्माण गरेको हुँदा कतिपय फलेक राख्दाराख्दै भाँचिएका छन् ।

घरभित्रै हावापानी छिर्ने र फलेक भाँचिने डर हुने देखिएपछि स्थानीयले अघिल्लो वर्ष बनेको घरजस्तै बनाइदिन माग गरेका थिए । स्थानीयको गुनासोअनुसार निर्माण कम्पनीलाई आग्रह गर्दा पनि नमानेपछि स्थानीयको गुनासो बोकेर वडा अध्यक्ष मगर गाउँपालिका पुगेका थिए । योसँगै यो बस्तीमा अब दुईथरी घर हुने भएका छन् । बनिसकेको घर हस्तान्तरण नभए पनि केही घरले बाहिर हावाहुरीको डर हुने हुँदा प्रयोग गर्न थालिसकेका छन् ।

बन्न बाँकी घरधनीहरुले पनि मौसमलाई ध्यानमा राख्दै समयमै घर बनाइदिन आग्रह गरिरहेका छन् । वडा अध्यक्ष मगरको परिवारले पुस्तौँदेखि भोगचलन गर्दै आएको करिब दुई बिगाहा जमिनमा सुकुमबासी बस्ती निर्माण गरेको हो । केन्द्र सरकार र प्रदेश सरकारको आर्थिक सहयोगमा बस्ती निर्माण गरिएको हो । कुल ६२ घरधुरी रहेको यो बस्तीमा १६ वटा घर गत वर्ष नै निर्माण भइसकेका छन् ।

images
प्रकाशित मिति :चैत्र १३, २०७९ सोमवार - ०८:३६:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology