Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

मकै रोप्ने चटारोमा इच्छाकामना ज्यानदालाका किसान : मौसमले साथ नदिँदा चिन्ता

मकै रोप्ने चटारोमा इच्छाकामना ज्यानदालाका किसान : मौसमले साथ नदिँदा चिन्ता

images

इच्छाकामना न्युज

१२, चैत्र २०७९
मकै रोप्ने चटारोमा इच्छाकामना ज्यानदालाका किसान : मौसमले साथ नदिँदा चिन्ता
images

ज्यानदाला । चितवनको पहाडी भेगमा माघको अन्तिम तथा फागुनको पहिलो हप्ता मकै लगाउने मुख्य समय हो । तर, यसपटक वर्षात् ढिलो भइदिँदा पहाडका कृषकले समयमै मकै छर्न पाएनन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने स्थानमा केहीले धुलैमा मकैको बीउ खसाले भने केहीले पानी परेपछि । फागुनको अन्तिमसम्म पनि पानी नपरेपछि अधिकांश किसानले उत्पादन ढिला हुने भएकोले आकाशे पानी पर्खिएनन् । र, धुलोमै मकै रोपे । चैत पहिलो साता पानी आएपछि भने किसानलाई भ्याइनभ्याई छ ।

चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं. १ मा पर्ने ज्यानदाला गाउँका किसान यतिखेर हलगोरू लिएर बारीमै व्यस्त छन् । पानी परेर जमिन भिजेपछि जतिसक्दो चाँडो मकैको बीउ खसाल्ने ध्याउन्नमा छन्, यहाँका किसान । शतप्रतिशत चेपाङ समुदायको बसोवास रहेको ज्यानदाला र आसपासका गाउँमा केही दिनयता यही कामले प्राथमिकता पाएको छ । खेती लगाउने बेलासम्म पनि पानी आउने आशामा रहेका यहाँका किसानले पानी नआएपछि फागुन २४ बाट मकै लगाउन सुरू गरेका हुन् ।

धुलैमा खसालेको बीउ पानी परेर जमिन भिजेपछि बल्ल उम्रिन थालेको छ । ‘समयमै पानी पर्न सकेन । त्यही भएर मकै रोप्न ढिला भयो,’ ज्यानदालाका स्थानीय खड्काबहादुर चेपाङले भने, ‘त्यसै त वर्षभरि खान पुग्दैन । झन् समयमै बाली लगाउन नपाएपछि के होला भन्ने चिन्ता छ ।’ उनका अनुसार हलगोरू आफैँले पालेका किसानलाई पानी परेदेखि फुर्सद छैन । ‘आफ्नो सकिए पनि छिमेकीको बारी जोत्न हिँड्नु परेको छ,’ उनी भन्छन्, ‘पानीले भिजेको बेला जोतपात नगरे केही दिन पानी आएन भने फेरि सुकिहाल्छ । त्यसमा पनि मकै लगाउने समय गइसक्यो ।’

पहाडको टाकुरामा चिसो मौसमका कारण दुई खेतीभन्दा हुँदैन । त्यो पनि समयमै लगाउन नपाए उत्पादन घट्छ । स्थानीय होमबहादुर चेपाङ भन्छन्, ‘फागुनको आखिरीसम्मै भए पनि बीउ खसाल्न पाए अलि चाँडो पाक्थ्यो । र, उत्पादन पनि केही बढ्थ्यो । तर, यसपाला ज्यादै ढिला भयो ।’ यहाँका किसानले मकै पाकेपछि कोदो लगाउँछन् । ‘यसपालि त मकै गोड्ने र कोदो रोप्ने सँगै होला जस्तो छ ।’

त्यसै पनि कोदो रोप्न ढिला हुने हुँदा मकैभित्रै कोदो रोप्नुपर्ने बाध्यता छ, यहाँका किसानलाई । ‘बजारबाट बोरा नतानी छाक टार्न मुस्किल हुने ठाउँमा आउँदो वर्ष झन् धेरै बोरा तान्नुपर्ने सम्भावना देखियो,’ उनी भन्छन्, ‘पखेरो बारीमा फलेको कोदो र मकैसँग आलोपाँचो गरेर खानको लागि चामलको बोरा थोरै भिœयाए पनि हुन्थ्यो । यसपालि धेरै नै भिœयाउनुपर्ने देखियो ।’

चितवनकै सबैभन्दा उच्च पहाड सिराइचुलीको काखमा रहेको यो गाउँका चेपाङ समुदाय आत्मनिर्भरतर्फ केन्द्रित छन् । उनीहरुले पखेरो बारी भए पनि माटोअनुसारको खेतीपाती गर्दै आएका छन् । पहिलेपहिले रैथाने जातका मकैमात्रै लगाउँदै आएका चेपाङहरुले अहिले बजारबाट आउने बीउ ‘विकासे’ मकै पनि रोप्न थालेका छन् । रैथाने मकैको तुलनामा विकासे मकैको उत्पादन केही बढी हुने हुँदा त्यसतर्फ यहाँका किसान आकर्षित भएका हुन् ।

images
प्रकाशित मिति :चैत्र १२, २०७९ आइतवार - ०८:४९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology