तनहुँ । दोस्रो प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको उनको क्षेत्रमा उपनिर्वाचन हुने भएको छ । सांसद पौडेलको क्षेत्र खाली भएपछि आगामी वैशाख १० गते उक्त क्षेत्रमा उपनिर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी थालिसकेको छ ।
सोही अनुरुप तनहुँ १ को उपनिर्वाचनमा कुन पार्टीबाट कसले टिकट पाउँछ र कसले निर्वाचन जितेर सांसद बन्छ भन्ने अड्कलबाजी सुरु भएको छ । विशेष गरेर सत्तागठबन्धनमा गठबन्धनको साँझा उम्मेद्वार उठ्ने चर्चा चलिरहदा नेकपा एमालेबाट भने ३ जनाको नाम चर्चामा छ त्यस मध्य पूर्वसांसद राम बहादुर गुरुङ एक हुन् ।
हाल पार्टीको गण्डकी प्रदेशको सचिवालय कमिटि सदस्य रहेका गुरुङ एमाले अध्यक्ष ओलीको निकट मानिन्छ । पहिलो प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. ‘क’ बाट नेपाली काँग्रेसका उम्मेद्वार गोविन्द भट्टराईलाई पराजित गर्दै निर्वाचित सांसद भएका थिए । यसपटक सोहि क्षेत्रमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस बिच गठबन्धन भएपछि झिनो मतान्तरले पराजित भएका थिए गुरुङ यसअघि पनि २०७० को चुनावमा क्षेत्र नं. १ मा कांग्रेसका शंकर भण्डारी संग पराजित भएका थिए ।
यद्यपी तनहुँ १ का स्थानीय नागरिक माझ परिचित रहेका र एक कार्यकाल प्रदेश सांसद हुदाँ जनतासँग भिजेर काम गरेको कारण उपनिर्वाचनमा नेकपा एमालेले गुरुङलाई उम्मेद्वार बनाउने सम्भावना देखिन्छ भने गुरुङलाई उम्मेद्वार बनाउने विषयमा पार्टी अध्यक्ष ओली पनि सकारात्मक रहेका छन् ।
त्यसो त तनहुँ १ मा एमाले कमजोर नै छ । विशेष गरेर नेपाली काँग्रेसको दबदबा बढि छ भने बन्दिपुर, आँबुखैरेनी र देवघाटमा माओवादीको प्रभाव राम्रै देखिन्छ । जसका कारण पराजय हुने अवस्थामा पनि गुरुङ निरन्तर रुपमा पार्टी उम्मेद्वार बनेका थिए । कार्यकर्ता र स्थानीय जनता माझ इमान्दार छविको नेताको रुपमा परिचित छन् । यहाँका जनताले उनलाई २०७९ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधि सभातर्फ उम्मेद्वार भएको हेर्न चाहेका थिए यद्यपी उनलाई पार्टीले भने प्रदेश सभामा उम्मेद्वार बनाएको थियो ।
यसैगरी उपनिर्वाचनमा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङ र दोस्रो प्रदेश तथा प्रतिनिधि सभामा उम्मेद्वार रही पराजित एक बहादुर रानालाई पनि एमालेले उम्मेद्वार बनाउने चर्चा चलेको छ ।