Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चितवनको इच्छाकामना वडा नं. ७ : सिङ्गो वडामैै अव्यवस्थित र सुकुमबासी बस्ती

चितवनको इच्छाकामना वडा नं. ७ : सिङ्गो वडामैै अव्यवस्थित र सुकुमबासी बस्ती

images

इच्छाकामना न्युज

६, चैत्र २०७९
चितवनको इच्छाकामना वडा नं. ७ : सिङ्गो वडामैै अव्यवस्थित र सुकुमबासी बस्ती
images

भालुमारा । इच्छाकामना गाउँ–पालिकाको समग्र बसोवास हेर्ने हो भने अधिकांश गाउँ आदिवासी जनजाति समुदायले ढाकेको छ । त्यसमा पनि वडा नं. ७ दाहाखानी क्षेत्रमा ९५ प्रतिशत भन्दा बढी बसोवास आदिवासी जनजाति समुदायकै छ । तामाङ, चेपाङ, मगर, गुरूङ लगायतका समुदायको मुख्य बसोवास रहेको वडा हो यो । केही प्रतिशत दलित समुदाय र औँलामा गन्न सकिने गरी खसआर्य समुदायको पनि बसोवास छ । तर, पुस्तौँदेखि बसोवास गर्दै आएको यही वडामा अधिकांशको हातमा जग्गाधनी पुर्जा छैन । 

वडाअध्यक्ष बमबहादुर थापा मगरका अनुसार करिब एक हजार तीन सय घरधुरी रहेको यो वडामा मुस्किलले ३०० जनाको हातमा लालपुर्जा परेको छ । बाँकी सबै  लालपुर्जा  पाउने  आशमा छन् । ‘त्यसमा पनि ८० प्रतिशत अव्यवस्थित र २० प्रतिशत सुकुम्बासी होलान्’ –वडाअध्यक्ष मगरले अनुमान लगाए । उनका अनुसार २०५४ सालमा भएको नापजाँचबाट करिब ५० घरधुरीले सेतो पुर्जा पाएका थिए । उनीहरुले सम्भवतः यही आर्थिक वर्षभित्रमा लालपुर्जा पाउने प्रक्रियामा छ । ‘२०५४ सालमा नापजाँच हुँदा बस्ती पनि पातलो थियो । अहिले बढेको छ’ –उनले भने । 

पटकपटक भूमि आयोग गठन भए पनि काम नहुँदा स्थानीयले आफ्नो अधिकार समेत पाउन नसकेको उनले बताए । यसपटक बल्ल जग्गा नापजाँचको प्रक्रिया सुरू भएको उनले बताए । ‘फाराम सबैले भरेका छन् । जग्गा नापजाँचको काम बल्ल सुरू भएको छ’ –वडाअध्यक्ष मगरले भने ‘अहिलेसम्ममा बल्ल भालुमारा, स्याङ्दी र गर्दासमा नापजाँच भएको छ ।’ 

अहिलेसम्म जग्गा जमिन भएर पनि राज्यबाटै जनपक्षीय काम हुन नसक्दा जनताले आफ्नो हातमा पुर्जा नपाएको उनको भनाइ छ । स्थानीय सरकार आएपछि पनि पटकपटकको पहल र  छलफलबाट मात्रै जग्गा नापजाँचको काम सम्भव भएको उनको भनाइ छ । ‘त्यसैले यो कामलाई हामीले स्थानीय सरकार आएपछिको एउटा उपलब्धि नै मानेका छौँ’ –उनले भने । 

यो वडामा अधिकांश गोरखा, लमजुङ, धादिङ लगायतका जिल्लाबाट पुस्तौँ पहिले नै बसाईँ सरेर आएकाहरु बस्दै आएका छन् । तर, स्थानीयले भोगचलन गर्दै आएको जग्गाबारे सरकारले  कुनै प्रक्रिया नचालिदिँदा स्थानीय ढुक्क भएर बस्न नपाएको उनले बताए । राजनैतिक दल र तिनका नेताहरुले मतदान भण्डारण मात्रै बनाउँदा कति पुस्ताले आफ्नो अधिकार नपाउँदै प्राण त्यागिसकेका छन् । 

‘तैपनि नयाँ पुस्ताले पाउने प्रक्रिया अगाडि बढेको छ’ –उनले भने । यो वडा जिल्लाकै सुविधा–सम्पन्न स्थानीय तह भरतपुर महानगरपालिकासँग सिमाना जोडिएको ठाउँ भए पनि विकासका हरेक क्रियाकलापमा पछि परेको छ । अहिलेसम्म वडाको सबै गाउँमा बिजुली बत्ती र सडकजस्ता पूर्वाधारले छुन सकेको छैन । २० वर्षपछि पुनः सुरू भएको स्थानीय तहको दोस्रो कार्यकाल पनि एक वर्ष सकिँदै गर्दा बल्ल विकासको कामले थोरै भए पनि गति लिन थालेको वडाको दाबी छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - १८:५४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology