कुरिनटार । समाचारको विषयलाई लिएर स्थानीय पत्रकार सञ्जय पोखरेल माथि भएको हातपात र दुव्र्यवहार गर्नेलाई पत्रकार महासंघ चितवन र इच्छाकामना सञ्चारकर्मी समूहले कारवाहीको माग गरेको छ । दुवै संस्थाले एक विज्ञप्ती जारी गर्दै समाचारको विषयलाई लिएर कुटपिट गर्ने माथि कारवाहीको माग गरेका हुन् ।
घटनाको दोषिमाथि कारवाही गर्न माग गर्दै स्वतन्त्र रुपमा पत्रकारिता गर्न वातवरण बनाउन र शान्ति सुरक्षाको प्रत्यभुतका लागि स्थानिय प्रशासनसँग माग गरेका छन् ।
साथै सम्पूर्ण पत्रकारको पेशाागत सुरक्षा र भयरहित वातावरणमा काम गर्न पाउने संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न पनि जोडदार माग गरेको छ ।
समाचारको विषयलाई लिएर इच्छाकामना एफएमका कार्यक्रम संयोजक, इच्छाखबर अनलाईनका संचालक, पत्रकार महासंघ चितवनका सदस्य तथा इच्छाकामना सञ्चारकर्मी समूहका कोषाध्यक्ष समेत रहेका पोखरेललाई स्थानिय उत्पादनको कर संकलनका लगि इच्छाकामना गाउँपालिकाले सञ्चालन गरेको ढाँटका ठेकेदार कम्पनीका केही युवाहरुले इच्छाकामना ३ चुम्लिङटार स्थित निवासमै आएर समाचार र फेसबुक स्टाटस हटाउन दबाब दिदै हातपात समेत गरेका थिए ।