केशव गुरुङ, घैरुङ । सहिदलखन गाउँपालिकामा एक वडामा एक उत्पादन कार्यक्रम लागु भएको छ । पशुपालन र कृषि उत्पादनलाई जोड दिन र आयात घटाउँदै निर्यातलाई बढाउन गाउँपालिकाले एक वडागाउँपालिका एक उत्पादन कार्यक्रम लागु गरेको हो ।
भौगोलिक अवस्था, किसानको रुचि, पशु र खेती प्रणालीको अध्ययन गरेर प्रत्येक वडालाई पकेट क्षेत्र घोषणा गरी कृषकलाई व्यावसायिक उन्मुख बनाउन प्रयास गरिएको शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले बताए । गाउँपालिकाले कृषि र पशुपालनको प्राविधिक रुपमा सम्भावना अध्ययनपछि प्रत्येक वडालाई पकेट क्षेत्र घोषणा गरेको उनले जानकारी दिए ।
निर्वाहमुखी खेती र पशुपालनबाट निराश भएका किसान पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्दा हौसिएका गाउँपालिकाका कृषि शाखा प्रमुख ऋषि रोकाले बताए । संघीय, प्रदेश र स्थानीय तहबाट कृषि र पशुपालनमा आएका योजना, अनुदान तथा कार्यक्रम गाउ ँपालिकाले पकेट क्षेत्रअनुसारका गाउंमा केन्द्रित गरेर सञ्चालन हुँदै आएको छ ।
गाउँपालिकाले वडा १ बक्राङलाई अकबरे खुर्सानी, सिताके च्याउ, तरकारी र धानको पकेट क्षेत्र घोषणा गरेको छ । यो वडा बोयर बोका प्रजातिको पकेट क्षेत्र पनि हो । यहाँ करिब एक सय किसानले बोयर जातका बोका पालेको र एकै प्रकारका खेती र पशुपालन गर्दा विक्रीका लागि पनि सहज बनेको उनले बताए ।
वडा नम्बर २ लाई सुन्तला, बंगुर र स्थानीय कालो सुँगुरको पकेट क्षेत्र घोषणा गरिएको छ । यसवर्ष यहाँ एउटै किसानले सुन्तला उत्पादनबाट २३ लाखसम्म आम्दानी गरेका छन् । कालो सुँगुर जिल्ला बाहिरबाटसमेत खरिदका लागी ग्राहक गाउँमै पुग्ने गरेका छन् । कालो सुँगुरको पाठापाठी र मासु बेचेर एउटै किसानले वार्षिक डेढ लाखसम्म आम्दानी गरेको उनले बताए ।
वडा ३ मा आलु, काँक्रो, आँप, लिची, केरा, भैसी, माछा र लेयर्स कखराको पकेट क्षेत्र बनाइएको छ । वडा ४ मा मकै तरकारी, बाखा र माछा, वडा ५ मा सुन्तला र बाखा, वडा ६ मा कफी, केरा, माहूरी, मकै, भैसी पकेट क्षेत्र बनाइएको छ ।
वडा ७ मा तरकारी, पिडालु, आलु, अदुवा, बेसार, सुँगुर, बंगुर, लेयर्स कुखुरा, बडा ८ मा पिंडालु, एभोकाडो, बेसार, अदुवा, धान, माछा र लेयर्स कुखुरा, वडा ९ मा तरकारी, टमाटर, आलु, मकै, भैसी र बाखाको पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गरिएको छ । पकेट क्षेत्र कार्यक्रमले माछा मासु सुन्तला र च्याउमा गाउँपालिका आत्मनिर्भरतर्फ उन्मुख बन्ने लक्ष्य राखिएको छ । गाउँपालिकामा करिब २७ हजार जनसंख्या छ । करिब चार हजार चारसय परिवारका २२ हजार जनसंख्या कृषि र पशुपालनमा आश्रित रहेको रोकाले बताए ।
आयात प्रतिस्थापन गर्नुपर्छ, किसानलाई व्यवसायिक बनाउन पालिका भित्र प्रत्येक वडालाई पकेट क्षेत्र घोषण गरी कार्यक्रम संचालन गरिएको रोकाले जानकारी दिए । यसले अन्य कृषि उपजमा पनि आत्म निर्भर बनाउन सघाउने उनको भनाइ छ । गाउँपालिका माछामासुमा पनि आत्मानिर्भर बन्ने क्रममा रहेको समेत उनले बताए । उनले भने, ‘१२ हजार मुडामा सिताके च्याउ खेती भएको छ, माछा, मासुमा पनि गाउँपालिका आत्मनिर्भर बनेको छ ।’ पालिकाले स्थानीयस्तरमा उत्पादन भएका कृषिउपज सामग्रीलाई बजार व्यवस्थापन गर्नका लागि कृषि मेला प्रर्दशनी गर्दै आएको छ ।
मेलाबाट किसानले तरकारी, फलफुल, मौरी, च्याउ, मसलाबाली लगायत रैथानै र लोपोन्मुक पोषणयुक्र बालीहरुको संरक्षण र प्रवद्र्धन गर्दै आएका छन् । त्यस्तै, कृषि र पशुपालन तर्फ उत्कृष्ट भएका कृषकहरुलाई पालिकाले नगद सहित सम्मान गरेर हौसल दिदै आएका छन् ।
यो वर्ष पालिकाले कृषि र पशुपालन गरी १६ जनालाई उत्कृष्ट र २ जनालाई सर्वोत्कृष्ट गरी १९ जना कृषकलाई सम्मान गरिएका थिए । त्यस्तै पालिकामा हालसम्म एक सय ६१ वटा कृषि समूह दर्ता भएका छन भने २ सय वटा कृषि फर्म दर्ता भएका छन् । पालिकामा दर्ता भएका कृषि सहकारी संख्या १२ वटा र कृषि नर्सरी ३ वटा रहेको गाउँपालिकाले जनाएको छ ।