कुरिनटार । चितवनका सात स्थानीय तहमध्ये कार्यपालिका बैठकको निर्णय निममित रुपमा सार्वजनिक गर्नेमा इच्छाकामना गाउँपालिका मात्रै परेको छ । अन्य छवटा पालिकाले कार्यपालिका बैठकको निर्णय नियमित रुपमा सार्वजनिक गर्ने गरेका छैनन् । स्थानीय तहले आफूले बनाएका नीति–निर्णय आफ्नो वेबसाइटमार्फत नागरिकलाई जानकारी गराउनुपर्छ ।
नागरिकप्रतिको जवाफदेहिता र पारदर्शिताका लागि स्थानीय तहले गरेका कामकारबाही सार्वजनिक गर्न सरकारले सबै स्थानीय तहको वेबसाइट बनाइदिएको छ ।
जिल्लाको सबैभन्दा सानो स्थानीय तह इच्छाकामना गाउँपालिकाले मात्रै कार्यपालिका निर्णय नियमितरुपमा सार्वजनिक गर्दै आएको हो । स्थानीय तहले हरेक महिना कार्यपालिका बैठक बसेर निर्णय सार्वजनिक गर्नुपर्छ । इच्छाकामनामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि हरेक महिना भएको कार्यपालिका बैठकको सबै निर्णय सार्वजनिक भएको छ ।
नयाँ जनप्रतिनिध आएको केहि दिनमै आईटि अफिसर रिक्त भएपछि लामो समय गाउँपालिकाले निर्णय सार्वजनिक गर्न सकेको थिएन । नयाँ आईटिअफिसरको रुपमा आशिष भण्डारी नियुक्त भएसँगै गाउँपालिकाले नियमित रुपमा कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्ने गरेको छ । अब आगामी दिनमा नियमित रुपमा नै गाउँपालिकाको निर्णय सार्वजनिक गरिने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए ।
अन्य स्थानीय तहको वेबसाईटममा राखिएको विवरण अनुसार भरतपुर महानगरपालिकाको असार २९ गते बसेको कार्यपालिका बैठकको निर्णय बाहेक त्यस यताको कुनैपनि निर्णय सार्वजनिक भएको छैन ।
यस्तै माडी नगरपालिकाले भदौ ८ पछि, रत्ननगर नगरपालिकाको असोज ५ पछिको निर्णय सार्वजनिक गरेका छैनन् भने कालिका, राप्ति र खैरहनी नगरपालिकाले माघ पछिको निर्णय सार्वजनिक नगरेको देखिन्छ ।