Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मनकामना माईको मन्दिरमा परेवा उडाउन प्रतिबन्ध

मनकामना माईको मन्दिरमा परेवा उडाउन प्रतिबन्ध

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७९
मनकामना माईको मन्दिरमा परेवा उडाउन प्रतिबन्ध
images

मनकामना । प्रसिद्ध मनकामना मन्दिरमा परेवा चढाउन प्रतिवन्ध लगाइएको छ । सहिद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति तथा उद्योग वाणिज्य संघको मनकामना बजार इकाईसंग समन्वय गरी भिजिट मनकामना डटकमले आइतबारदेखि परेवा चढाउन निषेध गरेको हो ।

चढाइएका परेवा अत्याधिक मर्ने र व्यवस्थापन गर्न नसक्दा परेवा चढाउने कार्यक्रम नै बन्द गरिएको मनकामना क्षेत्र विकास समितिले जनाएको छ ।

मनकामना मन्दिरमा दैनिक सरदर तीन, चार हजार भक्तजन आउँछन् । उनीहरुमध्य सय जनाले परेवा ल्याए भने पनि दुईसय परेवा दैनिक मन्दिरमा चढ्छन् । ती परेवाको व्यवस्थापन गर्न मन्दिरलाई समस्या भएको क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशी बताउँछन् । ‘देशका विभिन्न ठाउँबाट ल्याइएका परेवा यहाँको वातावरण अनुकूल हुदैनन् । ५०, ६० प्रतिशत परेवा त चढाएकै रातमा मर्छन्’, जोशी भन्छन्, ‘हरेक बिहान सफा गर्ने क्रममा डोकोका डोको परेवा मरेका परेवा फाल्नुपर्छ । जीवित परेवा राख्न परेवा पाटी पनि छैन । मरेका परेवा फाल्ने ठाउँको समेत अभाव भयो । त्यसैले रोक्न बाध्य भएका हौँ ।’

वाह्य वातावरणका साथै मन्दिरमा प्रयोग गरिएको सुनौला छाना पनि परेवाका कारण क्षति हुने उनीहरुको भनाइ छ । जिर्णोद्वार गर्दा मन्दिरको छानामा सुनको जलप लगाइएको छ । परेवाको दिसाले सो सुनको जलप तथा छानाको रुपलाई कुरुप गर्ने भएकाले पनि परेवा उडाउन रोक लगाइएको उनीहरुको भनाइ छ ।

बिगतमा बर्डफ्लु फैलिएपछि पनि परेवा उँडाउन निषेध गरिएको थियो । फेरि लुकिछिपी ल्याउने र चढाउन थालेका थिए । पछिल्लो समय मन्दिरमा परेवा चढाउनेको संख्यामा बृद्वि हुदै गएपछि पुनः परेवा उडाउनमा प्रतिवन्ध लगाइएको सचेतना अभियान सञ्चालक राजेन्द्र लामाले बताए । ‘परेवाका कारण मन्दिर प्रदुषित भएपछि पुजारीको विशेष अनुरोधमा हामीले फेरि आइतबारबाट यो अभियानलाई कडाइका साथ सञ्चालन गरेका छौँ’, लामाले भने, ‘अहिले त परेवा चढाउने संकल्प समेत गर्न बन्द गरिएको छ । परेवाको विस्टा र मरेका परेवाले मन्दिरको आन्तरिक र वाह्य स्वरुप कामै नलाग्ने गरी बिगारेकाले मन्दिरलाई स्वच्छ, सफा र हराभर बनाइ राख्न परेवा उडाउन निषेध गरिएको हो ।’

अभियानमा मन्दिरका पुजारी, मनकामना मन्दिर रहेको पालिका शहिद लखन गाउँपालिका वडा नम्बर २ र ३, मनकामना क्षेत्र विकास समिति र उद्योग बाणिज्य संघ, मनकामना ईकाइ तथा स्थानिय संघ संस्थाहरुको पनि सहयोग रहेको उद्योग बाणिज्य संघ, मनकामना ईकाइ समितिका अध्यक्ष हरि श्रेष्ठले बताए ।

परेवा उँडाउन निषेध गरिएको बारे चितवनको चेरेशस्थित मनकामना प्रवेशद्वार, मनकामना केबलकारको मुलगेट आसपास पनि सूचना गरिएको छ । परेवा निषेध बारे सूचना प्रवाह गर्न स्कूल तथा कलेजका विद्यार्थीको पनि प्रयोग गरिएको उनले बताए ।

यो हप्ताभरि मनकामना मन्दिरमा आउनेहरुलाई ‘परेवा निषेध’ लेखिएको पर्चा बितरण गरिने र अर्को हप्तादेखि परेवा लिएर आएमा फिर्ता गर्न थालिने सो अभियानका सञ्चालक लामा बताउँछन् । मनकामना दर्शन प्रालिलाईसमेत पत्राचार गरेर केबलकारमा यात्रा गर्ने जो कोहीलाई पनि मनकामनामा परेवा लैजान निषेध गर्न अनुरोध गरेको छ ।

देवीको नाममा मन्दिरमा चढाइएको परेवाका कारण समस्या पैदा भएको मनकामना मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले बताए । परेवाको उचित बासस्थान र चारोको अभावका कारण समस्या भएको उनको भनाइ छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - ११:४३:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology