कुरिनटार । । चितवनको इच्छाकामना गाउँपालिकामा वडा कार्यालय सहायकहरुको किर्ते दस्तखत गरि माथिल्लो तहका कर्मचारीहरुले रकम निकासा गरि हिनामिना गरेको आरोप लागेको छ । सात वटै वडाका कार्यालय सहायकहरुको किर्ते दस्तखत गरि ८० हजार भन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको हो ।
गाउँपालिकाद्वारा संचालित महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक तथा लैङ्गिक अल्पसंख्यकहरुको तथ्याङ्क संकलनका लगि खटिएका प्रत्येक कर्मचारीले खाजा खर्च र पारिश्रमिक वापत् रु. ११ हजार ५५० रकम लिएको उल्लेख छ । तर उक्त शिर्षकमा रकम नलिएको वडा नम्बर ३ का कार्यालय सहायक कर्मचारी कविता पोखरेलले बताइन् । पोखरेलले आफुले हस्ताक्षर नगरेको र रकम पनि नलिएको भन्दै गाउँपालिका कार्यालयमा छानबिन गरि दोषि उपर कारबाही गर्न निवेदन दिएकी छन् ।
वडा नम्बर ५ का कार्यालय सहायक सशिकला त्रिपाठीले पनि यस शिर्षकको कार्यक्रम बारे आफुलाई थाहा नै नभएको र रकम पनि नलिएको बताइन् । अरु कसैले किर्ते दस्तखत गरेको उनले बताइन् ।
कविता पोखरेलले आफुले फेसबुकमा स्टाटस लेखेपछि लेखाका पवन खरेलले स्टाटस डिलिट गर्न आग्रह गर्दै आफुलाई उक्त रकम उपलब्ध गराइदिने भनि प्रलोभनमा पार्न समेत खोजेको आरोप लगाईन् ।
तर खरेलले भने आफुले रकम दिन्छु नभनेको तर सम्बन्धित व्यक्तिलाई भेट गराइदिने भनेको बताए । उनले माथिबाट प्रक्रियागत तोक लगाएर आएको फाइल भएकाले रकम भुक्तानी गरिदिएको बताए । ती सबै रकम सविता अर्याल मार्फत भुक्तानी दिएको बताए ।
तत्कालिन लेखा शाखाका प्रमुखलाई नियमित काममा रोक
यसैबिच लेखाका कर्मचारी पवन खरेललाई तत्काल नियमित कामकारबाहीमा रोक लगाएका छन् । निष्पक्ष छानबिनका लागि उनलाई तत्काल कार्यालयको नियमित काममा रोक लगाइएको प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले बताए ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले आजैबाट छानबिन सुरु गरि दोषी को–को हुन पत्ता लगाई सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । छानबिन गरि दोषी उपर कारबाही गर्न इच्छाकामनाका स्थानियहरुले अध्यक्ष दान बहादुर गुरुङ र प्रमुख प्रशासकिय अधिकृत समक्ष माग गरेका थिए ।
छानबिन समिति बनाई एक हप्ताभित्र सत्य तथ्य सार्वजनिक गर्ने अध्यक्ष गुरुङले बताए ।
२०७८ चैत १२ गतेदेखि २०७९ बैशाख १ गते सम्म इच्छाकामना गाउँपालिकाद्वारा संचालित महिला,बालबालिका तथा अपाङ्गगता भएका व्यक्ति ज्येष्ठ नागरिक तथा लैङ्गिक अल्पसंख्याकहरुको तथ्याङ्क संकलनका लागि खटिएका सहायक वडाका कार्यालय सहायक सचिवहरुलाई छुट्याइएको खाजा खर्च र दैनिक पारिश्रमिक भत्ता उच्च तहका कर्मचारीले किर्ते हस्ताक्षर गरि आफै बुझेको र सम्बन्धित कर्मचारीलाई उपलब्ध नगराएको आरोप लागेको हो ।
तत्कालिन योजना शाखा प्रमुख सविता अर्यालले उक्त रकम बुझेको खुल्न आएको छ । तर सात वटै वडा कार्यालयका सहायक सचिवहरुले उक्त रकम पाएका छैनन् ।