तनहुँ । बुधबारबाट राति १२ बजेदेखि बिहान ४ बजेसम्म पृथ्वी राजमार्गको आँबुखैरेनी–पोखरा खण्ड बन्द हुने भएको छ। सडक बिस्तारका क्रममा भित्ता कटिङ गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि रातिको समयमा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टले जानकारी दिए।
तीन वर्षमा काम सक्नेगरी सम्झौता भए पनि यो सडक खण्डमा कामको गति असाध्यै सुस्त हुँदा यात्रु र राजमार्ग आसपासका बासिन्दाहरूले हिलो र धुलोको सास्ती पाइरहेका छन्। ट्राफिक जामको समस्या झेलिरहेका छन्। अहिले सडक विस्तारका लागि भित्ता काट्ने, रिटेनिङ वाल बनाउने, नाली, कल्भर्ट बनाउने कामहरू भइरहेका छन्।