Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको हरिपुर र थाङखोलामा मोटरेबल पक्की पुल बन्दै

इच्छाकामनाको हरिपुर र थाङखोलामा मोटरेबल पक्की पुल बन्दै

images

इच्छाकामना न्युज

१५, फाल्गुण २०७९
इच्छाकामनाको हरिपुर र थाङखोलामा मोटरेबल पक्की पुल बन्दै
images

सिमलढाप । खहरे खोला भएकै कारण बर्खा लागेपछि इच्छाकामना–७ का जनतालाई भरतपुर र पदमपुर आउजाउ गर्न निकै सास्ती हुने गरेको छ । बाढी आउँदा थाङखोलाले कालिका र हरिपुर खोलाले भरतपुरसम्म आउन–जान सडक सञ्जाल नै तोडिदिन्छ । गाउँवासीलाई हालसम्म समस्या भए पनि आउँदो वर्षदेखि भने केही सहज हुने देखिएको छ । अहिले यी दुवै खोलामा पक्की पुल निर्माणको काम सुरू भएपछि गाउँवासीलाई सहरसम्मको यातायातमा सहज हुने देखिएको हो ।

हरिपुर खोलामा करिब ५६ लाख रूपैयाँ बजेटमा केही महिनाअघि मात्रै बेलिब्रिज निर्माण गरेको थियो । त्यसले थोरै भए पनि सहजता दिलाएकोमा दिगो समाधान नहुने हुँदा त्यसैको आडैमा पक्की पुल निर्माणको काम थालिएको इच्छाकामना गाउँपालिकाले जनाएको छ । बागमती प्रदेश सरकारबाट आएको करिब तीन करोड रूपैयाँ लागतमा चार मिटर चौडाइ र २० मिटर लम्बाइको मोटरेबल पुल बन्न लागेको हो । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङका अनुसार उक्त पुल हालसम्म बनिसक्नुपर्ने हो ।

तर, ठेकेदारले प्राविधिक कठिनाइ देखाएर काममा ढिलाइ गरेको उनले बताए । निर्माण कम्पनीले २०८० को जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने बचन दिएको उनले बताए । ‘पुलको जगको काम अघिल्लो वर्ष नै भइसकेको थियो । यो वर्ष बाँकी काम हुन लागेको हो’, अध्यक्ष गुरूङले भने, ‘अहिलेकै गतिमा काम भयो भने जेठसम्ममा गाडी गुडाउन मिल्छ होला ।’ यो पुल निर्माण सम्पन्न भइसकेपछि नजिकै सञ्चालनमा आएको बेलिब्रिजलाई अन्यत्र लगेर हाल्न सकिने उनले बताए ।

‘यो वडामा थुप्रै खहरे खोला छन् । ती सबै ठाउँमा पुलको आवश्यकता छ’, उनले भने, ‘त्यसैले हरिपुर खोलामा मोटरेबल पुल सञ्चालनमा आएपछि बेलिब्रिजलाई यहाँबाट विस्थापित गरी सबैभन्दा बढी आवश्यक परेको ठाउँमा लगेर राख्न सकिन्छ । त्यसका लागि पनि अध्ययन गरिरहेका छौँ ।’

thankhola bridge.jpg

यही वडाबाट कालिका नगरपालिका जोड्ने थाङखोलामा भने चार वर्षपछि बल्ल पुल निर्माणको काम सुरू भएको उनले बताए । यसअघि संघीय सरकारबाट बजेट आए पनि सम्बन्धित निकायले चासो नदेखाउँदा हरेक वर्ष बजेट फिर्ता जाने गरेको उनले बताए । ‘यसपटक संघीय सरकारबाट आएको बजेटलाई सदुपयोग गर्ने कामको थालनी भएको छ’, उनले भने ।

पालिकाका अनुसार संघीय सरकारको करिब पाँच करोड रूपैयाँको लागतमा पुल निर्माणको काम सुरू भएको हो । ‘यसअघि पनि बहुवर्षीय योजनाअनुसार चारपटकसम्म बजेट आएको थियो, तर काम गर्न नसकेपछि फिर्ता गयो’, उनले भने, ‘यसपटक भने दुई वर्षमा सक्ने गरी काम थालिएको छ ।’ उनका अनुसार अहिले जगको काम भइरहेको छ । ‘फाउन्डेसनको काम थालेको करिब एक महिना भयो । अहिले हात्तीपाइले राख्ने काम भइरहेको छ’, उनले भने । यो पुल भने चौडाइ चार मिटरको भए पनि लम्बाइ करिब २५ मिटर लामो हुनेछ ।

यी दुवै खोलाको पुल निर्माण सम्पन्न भएपछि इच्छाकामना गाउँपालिकाको वडा नं–७ स्थित साबिकको दाहाखानी गाविसका जनतालाई बाहै्रमास, चौबिसै घन्टा जुनसुकै अवस्थामा पनि यातायात आवागमनमा समस्या नहुने इच्छाकामना–७ का वडा अध्यक्ष बमबहादुर थापामगरले जानकारी दिए । ‘सदरमुकाम नजिक भए पनि खोलामा पुल नहुँदा बर्खाको समयमा दुःख–बिमार भए एम्बुलेन्स लिएर अस्पताल पुग्न पनि समस्या छ’, उनले भने, ‘मुख्य खोलामा पुल निर्माण भएपछि केही राहत हुने देखिन्छ ।’

तर, यो वडाभित्र थुप्रै खहरे खोला भएकोले दुई ठाउँमा पुल निर्माण गर्दैमा समस्या समाधान हुन नसक्ने उनले बताए । छरिएर रहेको गाउँ र बीच–बीचमा थुप्रै खहरे खोला भएकोले बर्खाको बेला एउटा गाउँबाट अर्को गाउँ पुग्न पनि समस्या हुने वडा अध्यक्ष मगरले बताए । ‘समस्या धेरै भएकोले एकैचोटि समाधान हुन नसके पनि बिस्तारै समाधान हुँदै जानेछ’, उनले भने ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७९ सोमवार - १०:५१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology