स्पेनिस ला लिगको शीर्ष क्लब बार्सिलोना आइतबार राति रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको अल्मेरियासँग अप्रत्याशित रूपमा १–० ले पराजित भएको छ । हारसँगै बार्सिलोनाले रियाल मड्रिडसँग १० अंकको अग्रता लिने स्वर्णिम मौका गुमाएको छ ।
बार्सिलोना ५९ अंकका साथ शीर्ष स्थानमा यथावत् छ । शनिबार राति दोस्रो स्थानको रियाल मड्रिड १० खेलाडीमा सीमित एट्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकिएको थियो । यस्तो अवस्थामा बार्सिलोनालाई शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने मौका थियो । तर, बार्सिलोना त्यसमा सफल हुन सकेन ।
प्रशिक्षक जाभीले दोस्रो हाफमा पाँच खेलाडी परिवर्तन गरेका थिए । तर पनि बार्सिलोनाले अल्मेरियाको रक्षापंक्ति तोड्न सकेन । योसँगै अल्मेरियाले बार्सिलोनाको सात खेलसम्मको विजयी यात्रामा पनि पूर्णविराम लगाइदिएको छ ।