Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रचार प्रसार हुन नसक्दा इच्छाकामनाको स्याङ्गदी झरना ओझेलमा

प्रचार प्रसार हुन नसक्दा इच्छाकामनाको स्याङ्गदी झरना ओझेलमा

इच्छाकामना न्युज

१४, फाल्गुण २०७९
प्रचार प्रसार हुन नसक्दा इच्छाकामनाको स्याङ्गदी झरना ओझेलमा
images

स्याङदी । चितवनलाई सुगम जिल्ला र व्यवस्थित सहरको रुपमा चिनिन्छ । त्यसैले पनि भरतपुर, नारायणगढ, टाँडी लगायतका समथर बजारमा मानिसहरु गर्मी महिना लागेपछि पहाडी भेगतर्फ आकर्षित हुन्छन् । तराईको तुलनामा चिसो हावापानी र शीतलता प्राप्त गर्न पनि बजारको कोलाहल भन्दा केहीपर रहेका झरना, खोला आदि  स्थानमा पुगेर आनन्द लिन चाहन्छन् ।

images
images

कतिपय स्थानमा प्राकृतिक झरना देखिन्छ भने कतिपय स्थानमा कृत्रिम झरना समेत निर्माण गरेर बजारका मानिसहरुलाई गाउँ प्रवेश गराउन सफल भएका छन् । स्याङ्दी झरना यसैको उदाहरण बनेको छ । 

भरतपुरबाट जखडीमाई, सिमलढाप हुँदै स्याङ्दी पुग्न सकिन्छ भने कालिका नगरपालिकाको पदमपुरबाट भालुमारा वा गर्दास हुँदै स्याङ्दी पुग्न सकिन्छ । स्याङ्दी नयाँबारी  पुगेपछि झरनासम्म पुग्न करिब १५ मिनेट पैदल हिँड्नुपर्छ । स्थानीयस्तरमा समग्र स्याङ्दीकै विकासका लागि स्थानीयले गाउँभन्दा केही माथि झरना निर्माण गरेका छन् । त्यसले केही वर्षयता आन्तरिक पर्यटकको आगमन समेत बढाएको छ ।

स्थानीय अमृत गुरूङका अनुसार सुरूमा स्याङ्दीमा रहेको चण्डीथान सामुदायिक वनले यसको परिकल्पना गरेर झरना निर्माणको काम थालेको थियो । ‘गर्मी महिना लागेपछि जता पनि झरना र पोखरीकै कुरा हुने देखिएपछि हामीले पनि झरना निर्माण गर्ने योजना बनायौँ’ –उनले भने, ‘फलस्वरुप हामीले झरनालाई थोरै भए पनि  व्यवस्थित बनाउन सकेका छौँ ।’ 

स्थानीयको चाहनाअनुसार नै सामुदायिक वनले झरना निर्माणको लागि  प्रयास गरेको चण्डीथान सामुदायिक वन उपभोक्ता समूह स्याङ्दीका अध्यक्ष जमानसिंह गुरूङले  बताए । उनका अनुसार केही वर्षपहिले सामुदायिक वनले जम्मा एक लाख रूपैयाँ बजेट निकासा गरेर झरनासम्म पुग्ने बाटो बनाउनुका साथै खोलाबाट कुलो काटेर झार्न सफल भएको थियो । 

यसपटक भने वडा नं.७ बाट झरनाको प्रवद्र्धन गराउने उद्देश्यले एक लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरेपछि त्यसैबाट झरनामा पोखरी निर्माण गर्न सफल भएको उनले बताए । अहिले निर्माण गरेको झरनामा सानो मूल छ ।

बर्खाको समयमा त्यही मूलको झरना ठूलो हुन्छ । तर, हिउँद लागेपछि सुक्ने हुँदा खोलाबाट कुलो काटेर झरनामा मिसाएको उनले बताए । स्थानीयकै पहलमा झरना निर्माण गरिए पनि प्रचारप्रसारबाट टाढा हुँदा ओझेलमा परेको उनको भनाइ छ ।  

भावी दिनमा वडादेखि पालिका हुँदै प्रदेश र केन्द्र सरकारले स्थानीयस्तरमा हुन सक्ने पर्यटकीय सम्भावनाको खोजी गरी त्यसको प्रवद्र्धन गराउन सके पर्यटन प्रवद्र्धनमा टेवा   पुग्ने स्थानीयले बताएका छन् ।

स्थानीयले  करिब  ६/७  वर्षदेखि  प्रयास  गर्दै  आए  पनि  विगत  तीन  वर्षदेखि   झरनामा मान्छे  आउन थालेका  छन्  । ‘तर,  प्रचारप्रसार  गर्न   नसक्दा   यसबारे   जानकारी गराउन  सकेका  छैनौँ’  स्थानीय समेत  रहेका वनका अध्यक्ष गुरूङले भने । 
झरनालाई  थप  व्यवस्थित बनाउन सके यहाँका स्थानीयले उत्पादन गरेका कृषि उत्पादनको बजारीकरणमा समेत मद्दत पुग्ने उनको विश्वास छ ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०७९ आइतवार - २०:४८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology