कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित कुरिनटारमा रहेको सर्वशान्ति माध्यामिक विद्यालयको सार्वजनिक जग्गामा निजी क्षेत्रले जथाभावी हडपेर रजाई गरेको भन्दै सबै मिलेर यस्तो कार्य रोक्नुपर्ने बागमति प्रदेश सभा सदस्य सांसद कृष्णप्रसाद सिलवालले बताएका छन् । आजदेखि कुरिनटारमा सुरु भएको इच्छाकामना गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको प्रमुख अतिथिको रुपमा समुद्घाटन गर्दै सांसद सिलवाले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोन्धन गर्दै सांसद सिलवालले केहि स्वार्थ समूहको मिलिभगतमा विद्यालयको जग्गा निजि क्षेत्रले हडप्ने काम भएकोले सबै मिलेर यस्तो काम तत्काल रोक्नुपर्ने बताए । ‘यो तपाई हाम्रो सबैको साझा सार्वजनिक सम्पत्ति हो, यसको संरक्षण गर्नु, हाम्रो दायित्व हो, यसैले आजैदेखि विद्यालयको सार्वजनिक सम्पत्ति संरक्षणका लागि जुटौं ।’ –उनले भने ‘हामीले सार्वजनिक सम्पत्ति सार्वजनिक हितकै लागि प्रयोग गरि भोलीको पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्नुपर्ने हुन्छ, बेलैमा सोचौं ।’

उनले खेल लगायत सबै क्षेत्रमा प्रतिस्पर्धा आवश्यक भएपनि स्वस्थ्य प्रतिस्पर्धा र अनुशासन अनिवार्य रहेको बताए । साथै सामुदायिक विद्यालय र निजि विद्यालय बिच गुणात्मक प्रतिस्पर्धा आवश्यक रहेको पनि बताए ।
इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा आज देखि सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बागमति प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल, अतिथिमा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, वडाध्यक्षहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिता आज र भोली संचालन हुनेछ ।