चितवन । माघे सङ्क्रान्ति पर्वलाई लक्षित गर्दै नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले जनाएको छ। सडकखण्डमा रहेको पुल निर्माणको लागि पहरा भत्काउने काम भइरहेको हुँदा पुस ५ गतेदेखि एक महिनाका लागि समय लिएर दिउँसो ११ देखि ३ बजेसम्म बाटो नै बन्द गरेर काम गर्दै आएकामा शनिबार र आइतबारलाई बाटो खुला गरिएको आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए।
आयोजनाका अनुसार सिमलताल, कालीखोला र नाम्सी खोला पुलको काम सकिएको छ। तर चिन्सेन्जी र तुइन खोलाको पुलको भित्तो काट्ने काम बाँकी छ। तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिन्सेन्जीको ७० प्रतिशत काटिएको आयोजना प्रमुख कार्कीले जानकारी दिए। यी पुलसँगै काम थालिएका नौ पुलको निर्माण कार्य सम्पन्न भइसकेका छन्।