चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नारायणगढको नारायणी नदीकिनारमा सञ्चालित १४औँ संस्करणको चितवन महोत्सवको अवलोकन गरेका छन्। बिहीबार दिउँसो महोत्सवस्थल पुगेका लामिछानेले नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको ‘मेड इन नेपाल’ एक्स्पोसँगै महोत्सवको कृषि प्रदर्शनी अवलोकन गरेका हुन्।
गृहमन्त्री लामिछानेले महोत्सव अवलोकनपछि सम्बोधन गर्दै युवा उद्यमीहरुको साथमा सधैँ आफू रहेको बताएका छन्। उनले केही नयाँ गर्न खोज्ने युवाहरुलाई आफूले गर्ने कामको प्रपोजल बनाएर गृहमन्त्रालयमा सम्पर्क राख्न आग्रह समेत गरे। युवाहरु विदेश पठाएर नभइ स्वदेशमा नै स्वरोजगार बनाएर देशको विकास हुने भन्दै यो सरकार नवप्रवद्र्धनमा प्रतिबद्ध भएको लामिछानेको भनाइ छ।
आफूले आफ्नो राजनीतिक जीवनभर नेपालमा नै उत्पादन भएका लुगा लगाउने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले नेपाली हुनुमा गौरव भएको बताए। नेपाली उद्यमीहरुलाई सबैले स्वागत र सम्मान गरेको अवस्थामा मात्रै देशमा आर्थिक क्रान्ति आउने लामिछानेको भनाइ छ। सो कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं १४औँ चितवन महोत्सवका मूल संयोजक चुननारायण श्रेष्ठले स्वेदशमा नै लगानी गर्ने वातावरण तयार गर्न र लगानी सुरक्षित हुने अवस्थाको सिर्जना गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए।