Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

खुला कौराहा प्रतियोगितामा चन्द्र एकताले पायो ५५ हजार 

खुला कौराहा प्रतियोगितामा चन्द्र एकताले पायो ५५ हजार 

इच्छाकामना न्युज

२४, पौष २०७९
खुला कौराहा प्रतियोगितामा चन्द्र एकताले पायो ५५ हजार 
images

भरतपुर । नेपाल मगर सांस्कृतिक संघ चितवनले आयोजना गरेको खुला मौलिक कौराहा प्रतियोगितामा भरतपुर–२ स्थित क्षेत्रपुरमा रहेको चन्द्र एकता मगर समाजले प्रथम स्थान हासिल गर्दै नगद ५५ हजार रुपैयाँ पुरस्कार जितेको छ। आयोजकले छुट्याएको २५ हजारमाथि पहिलो पुरस्कार प्रायोजन गरेका मेकबहादुर आलेमगरले त्यसैमा ३० हजार रूपैयाँ थपेर ५५ हजार बनाइदिएका हुन्। पहिलोपटक आयोजना गरेको प्रतियोगितामा गैँडाकोटस्थित साली–भेना सांस्कृतिक समूहले दोस्रो स्थान हासिल गर्दै नगद १५ हजार रूपैयाँ पुरस्कार जितेको छ। 

images
images

भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा भएको प्रतियोगितामा नेपाल मगर संघ खैरहनीले तृतीय स्थान हासिल गर्दै नगद १० हजार रूपैयाँ पुरस्कार जितेको छ। कुल सात वटा समूहको सहभागीता रहेको प्रतियोगितामा सांस्कृतिक समूहले मगर समुदायले प्रयोग गर्ने पुराना सामानको समेत प्रदर्शन गरेका थिए। जाँतो, ढिकी, घर, चर्खा, गुन्द्री, चकटीलगायतका सामानसहित मौलिक कौराहामा सहभागी भएका थिए। 

आधुनिकताको विकाससँगै लोप हुने अवस्थामा पुगेपछि मौलिक कौराहाको संरक्षण गर्ने उद्देश्यले खैंजडीसहित प्रत्यक्ष गायनमा प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था नेपाल मगर सांस्कृतिक संघ चितवनकी अध्यक्ष प्रेमकुमारी आलेमगरले जानकारी दिइन्। यसबाट हराइसकेको मौलिकतालाई जोगाउने प्रयास गरिएको उनले बताइन्। प्रतियोगितामा नेपाल मगर संघ रत्ननगर नगर समिति, लाफा आमा समूह गैँडाकोट, झेर्नी मगर समाज शरदपुर (ख) र धर्मोदय मगर समाज कृष्णपुरले सहभागी थिए। 

कलाकारहरूले मौलिक संस्कृतिअनुसार नै कौराहा प्रस्तुत गरेका थिए। ‘चितवनमै पहिलोपटक गरिएको कार्यक्रममा मौलिक बाजासहित सहभागीता गराउँदा उपस्थिति कम हुने हो कि भन्ने चिन्ता थियो । तर, सबैले साथ दिँदा सफल भएको अनुभूति गरेकी छु,’ संघकी अध्यक्ष मगरले भनिन्, ‘अब यसलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता छ ।’ 

कार्यक्रममा भरतपुर–७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले नेपालमा आदिवासी जनजातिकै कारण संस्कृति संरक्षण भइरहेको बताए। त्यसमा पनि मगर जातिको संस्कृतिले देशकै इज्जत बचाएको उनले बताए। यो कार्यक्रमको लागि वडाबाट ‘जनजाति उत्थान’ कार्यक्रमअन्तर्गत नगद एक लाख रूपैयाँ आर्थिक सहयोग गरेको थियो। त्यसबाहेक प्रथम पुरस्कार मेकबहादुर आलेमगर र तृतीय पुरस्कार नारायणी दोहोरी साँझ तथा नेपाली चुल्होले प्रायोजन गरेका थिए। 

नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले चितवनको आदिवासी जनजाति समुदायमा पनि मौलिक संस्कृति जगेर्ना गर्ने परम्परा बसिसकेको बताए। ‘आजको यो कार्यक्रमले झनै बलियो आधार तय भएको छ,’ उनले भने, ‘अब यसले बिस्तारै ठूलो रूप लिँदै गए मौलिकताले पुस्तान्तरण हुने अवसर पाउनेछ।’ नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति चितवनका अध्यक्ष महेन्द्र दुराले पनि आदिवासी जनजातिलाई यस्तै संस्कृतिले धनी बनाएकोले यसको संरक्षणमा सरकारी चासो हुनु सकारात्मक भएको बताए। 

कार्यक्रमको अन्त्यमा प्रत्यक्ष दोहोरी गाएर कार्यक्रमलाई थप मनोरञ्जन दिलाएका थिए। कार्यक्रममा दोहोरी गायक निश्चल मगर र बबिता मगरले प्रत्यक्ष दोहोरी गाएका थिए भने निर्णायक मण्डलका संयोजकसमेत रहेका कौराहा गायक बलबिक्रम थापामगरले कौराहा, झ्याउरे आदि गीत गाएर उपस्थितलाई नचाएका थिए।

images
प्रकाशित मिति :पौष २४, २०७९ आइतवार - ११:३७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology