उपेन्द्र गोले , रौतहट, २२ पुस । रौतहटमा १६ नगरपालिका र २ गाउपालिका गरि १८ ओटा स्थानिय तहहरु रहेका छन । जसमध्ये १७ स्थानीय तहहरुले आफ्नो नगर सभा सम्पन्न गरि सकेका छन् । तर रौतहटको राजदेवी नगरपालिकाले भने अहिलेसम्म नगर सभा गर्न सकेको छैन ।
राजदेवी नगरपालिकाका नगर प्रमुखले आफु अनुकुलको प्रमुख प्रशासकिय अधिकृत मन्त्रालयले नपठाउँदासम्म नगरसभा नगर्ने नियत राखेको स्थानीयले बताएका छन् । रौतहटको राजदेवी नगरपालिकामा अहिलेसम्म नगरसभा गर्न नसक्दा सो नगरपालिका अस्थब्यस्त बन्दै गएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा आर्थिक वर्षको असार १० गतेभित्र सबै स्थानीय तहको परिषद् सम्पन्न गरेर प्रस्तुत बजेट असार मसान्तभित्र वहुमत सदस्यबाट पारित गर्नुपर्ने प्रावधान रहेको छ ।
तर असार १० गतेभित्र गर्नुपर्ने नगरसभा नगरप्रमुख धिरेन्द्र कुमार सिंहले हाल निमित्त प्रमुख प्रशासकिय अधिकृत स्वास्थ्य शाखा प्रमुख सुवोध साहलाई नै मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत हुनुपर्ने मनासय राखेपछि पौष १ गते हुने भनिएको नगरसभा समेत स्थगित गर्नु भएको थियो । पुष १ गते स्थगित नगर सभा पुन १५ गतेलाई तय गरेको नगरसभा पनि नगरपालिकाले एक सुचना निकालेर नगर प्रमुख सिंहको आदेश अनुसार भन्दै स्थगित गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर २२ गते प्रमुख प्रशासकिय अधिकृतको रुपमा विनोद कुमार दत्तलाई सो नगरपालिकामा सरुवा गरेर पठाएको थियो । तर नगर प्रमुख सिंहले दत्तलाई अहिले माहोल ठिक नरहेको भन्दै हाजिर समेत गराउनु भएको छैन । नगर प्रमुखले हाजिर नगर्न भनेपछि आफ्नो काममा खटिन आएका हाजिर हुने आशमा दत्त १० दिन जिल्ला सदरमुकाम गौरमा बसेर काठमाडौँ फर्किनु भएको बताइएको छ । उहाले हाल निमित प्रमुख प्रशासकिय अधिकृत साह नै कार्यालय प्रमुख हुनुपर्ने अडान लिइ रहनु भएको बताइएको छ ।
दत्तलाई हाजिर नगराइ साह मार्फत नै कार्यालय संचालन गरेपछि पुष २ गते मन्त्रालयले नगरपालिकालाई पुनः एकपत्र लेख्दै साहको जिम्मेवारी रद्ध गरेको भन्दै पत्रचार गर्दै ताकेता गरेको थियो । नगर प्रमुख सिंहले विना कुनै ठोस कारण नगरसभा पटक–पटक स्थगित गर्दा नगरका विकास निर्माणका कार्यहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन भने साउन महिनादेखि आफुहरुले पाउनुपर्ने तलब भत्ता नपाएको भन्दै सो नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरु, कर्मचारी तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।