काठमाण्डौ । मुलुकमा माटोको उर्वरा शक्ति बर्सेनि क्षयीकरण हुँदै जाँदा कृषि प्रणालीमा गम्भीर सङ्कट आउने देखिएको छ । रासायनिक मलको अत्यधिक प्रयोग, पीएच भ्यालुमा आएको गिरावट, पोटास तत्वमा निरन्तरको कमी आदि कारणले उर्वरा शक्ति घट्दै गएको कृषि विभागले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो ।
३० हजार नमुना परीक्षण गर्दा ४०/४५ प्रतिशत माटो मात्रै तटस्थ प्रकृतिको पाइएको विभागका महानिर्देशक रेवतीरमण पौडेलले बताउनुभयो । उत्पादनका लागि तटस्थ माटो उपयुक्त हुने भएपनि गुणस्तरमा आएको गिरावटले राम्रो सङ्केत नगरेको उहाँले जानकारी दिनुभयो । माटोको नमुना परीक्षण विश्लेषण गर्दा ४०/४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून देखिएको छ । ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा अधिक रहेको विभागले जनाएको छ ।
प्राङ्गारिक पदार्थलाई माटोको आधारका रूपमा लिइन्छ । उत्पादनशील माटोमा प्रांगारिक पदार्थको मात्रा ३/५ हुनु आवश्यक छ । तर, तराई क्षेत्रको अवस्था नाजुक रहेको महानिर्देशक पौडेलको भनाइ छ । मुलुकमा खेती गरिने जमिनको ५६ प्रतिशतमा नाइट्रोजनको मात्रा न्यून छ । ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको विभागले जनाएको छ । फस्फोरस तत्व भने तुलनात्मक रूपमा राम्रो पाइएको छ । जसमा ४२ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ३१ प्रतिशतमा अधिक रहेको जनाएको छ । पोटास तत्वको मात्रा भने तीव्र गतिमा घटिरहेको छ ।
जसमध्ये ५० प्रतिशतमा न्यून, २६ प्रतिशत मध्यम र २४ प्रतिशतमा अधिक पाइएको महानिर्देशक पौडेलले बताउनुभयो । बालीबिरुवाका लागि आवश्यक हुने सूक्ष्म खाद्य तत्त्वहरू जिंक, मोलिब्डेनम र बोरनको मात्रा पनि न्यून देखिएको छ । सीआईएनसँग कुरा गर्दै माटो विज्ञ बलराम रिजालले बालीचक्रको आधारमा खेती नगरिनु, बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जानुले पनि माटोको उत्पादन क्षमता घटाईरहेको बताउनुभयो ।
उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा ३ देखि ५ प्रतिशत हुनु आवश्यक छ । कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा १ दशमलब ९६ प्रतिशतबाट ४ प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ ।