Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना विशेष

विकास र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको इच्छाकामनाको पामडाँडा गाउँ

विकास र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको इच्छाकामनाको पामडाँडा गाउँ

रासस

१८, मंसिर २०७९
विकास र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको इच्छाकामनाको पामडाँडा गाउँ
images

भरतपुर । पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो ।

images
images

यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, गणेश लगायतका हिमश्रृङखलाको सुन्दर दृश्य देख्न पाइन्छ । मुग्लिन बजारबाट तामिन हुँदै आठ किलोमिटरको यात्रापछि सो स्थानमा पुग्न सकिन्छ । मुग्लिनबाट त्यहाँ पुग्न बोलेरो जिप दैनिक सञ्चालनमा हुन्छन् भने मोटरसाइकलमार्फत पनि त्यहाँ पुग्न सकिन्छ ।

266063873_1341099246343910_6810572757745423780_n.jpg

प्रशस्त सम्भावना बोकेको ठाउँ पामडाँडा प्रचार–प्रसारको अभावमा ओझेलमा परेको इच्छाकामना गाउँपालिका–५ का वडासदस्य तारा गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमशृङ्खलाको आकर्षक दृश्यसँगै यहाँबाट त्रिशूली नदीमाथि पामडाँडाबाट हेर्दा सिरकले ढाकेजस्तो, सिमलको भुवाजस्तो सेताम्मे कुहिरो देख्न सकिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ । कात्तिक, मङ्सिर, पुस र फागुनसम्मै पामडाँडाबाट तल कुहिरो देखिने उहाँले बताउनुभयो ।

“हिजोआज मध्याह्न १२ बजेसम्मै कुहिरो देखिन्छ”, उहाँले भन्नुभयो, “बिहानै सूर्योदय हेर्न र घाम लागेपछि सेतो कुहिरोमाथि सुनौला घामले थप्ने सौन्दर्यले पामडाँडा बसिरहुँजस्तो लाग्ने भएको छ ।” यतिबेला यहाँ लटररम्म सुन्तला फलेका छन् । यसले पनि यहाँको दृश्य थप मनोरम बनाएको छ ।

265624934_1341099309677237_2614520289111035058_n.jpg

यहाँबाट तीन किलोमिटरको यात्रामा इच्छाकामना मन्दिर पुग्न सकिने राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका प्राचार्य यानबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार पामडाँडाबाट इच्छाकामना मन्दिरसँगै तनहुँको छिम्केश्वरी र गोरखाको मनकामना मन्दिर देख्न सकिन्छ । पामडाँडा नजिकै रहेको साठीमुरेमा होमस्टे छ । यहाँ पुग्नेका लागि १५–२० जना पाहुनालाई राख्न सक्ने क्षमता यहाँका घरवास (होमस्टे)को व्यवस्था गरिएको छ ।

266121493_1341099343010567_1650229309874752662_n.jpg

पामडाँडामा पनि गुरुङ समुदायको होमस्टे सञ्चालन गर्ने योजना बनाइएको छ । गुरुङ समुदायको खुलाल जातिमात्रै बसोबास गर्दै आएको पामडाँडामा गोरखाको सिरानचोक गाउँपालिका चित्रपामबाट पुर्खाहरू यहाँ आएर बसेको उहाँले बताउनुभयो । यहाँबाट नजिकै रहेको चेपाङ बस्ती पुगेर त्यहाँको रहनसहनबारे जानकारी लिन सकिन्छ । पामडाँडाको पर्यटन विकासका लागि गाउँपालिकाले प्राथमिकतामा राखेर काम गर्ने इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँले सडकको स्तरोन्नति र इच्छाकामना मन्दिरसँग जोडेर पामडाँडाको पर्यटन विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।

265633592_1341099273010574_375885473156555395_n.jpg

images
प्रकाशित मिति :मंसिर १८, २०७९ आइतवार - ०९:४९:४३ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology