स्नेहा कर्ण, काठमाडौँ । सर्लाहीका रङ्गनाथ पराजुलीलाई काठमाडौं आउन सहज छैन । ८० बर्षका पराजुली उपचारका लागि मात्रै काठमाडौँ आउनुहुन्छ । त्यसबेला उहाँ डाक्टरलाई भेटेपछि समय मिलाएर पशुपतिनाथको दर्शन गर्न पुग्नुहुन्छ । काठमाडौं उपत्यकाका चारवटा नाकाबाट दैनिक ४० देखि ४५ हजार मानिस ओहोरदोहोर गर्छन् ।
तीमध्ये दैनिक तीनदेखि चार हजार उपचारका लागि आउनेहरू रहेको अनुमान गर्ने गरिएको छ । उपचारका लागि काठमाडौँ उपत्यकामा आउनेहरू समय निकालेर पशुपतिनाथ, वसन्तपुर दरवारस्क्वायर, स्यम्भु, नारायहिटी दरबार सङ्ग्रहालय, बुढानिलकण्ठ, दक्षिणकालीलगायत ठाउँमा पुग्ने गरेका छन् ।
चिकित्सकीय सेवाले पनि नेपालको पर्यटन क्षेत्रमा अप्रत्यक्ष सहयोग पुगिरहेको बताउनुहुन्छहाडजोर्नी रोग विशेषज्ञ डा.बद्री रिजाल । नेपालमा उपचारका लागि बाह्य मुलुकबाट पनि नागरिकहरू आउने गर्छन् । अर्कोतिर प्रादेशिक रुपमा पनि धरान, झापा, विराटनगर, लहान, चितवन, नेपालगञ्ज, धनगढीलगायतका सहरमा पनि उपचारका लागि मानिसहरू पुग्ने गर्छन् । जसले नेपालमा पनि ‘मेडिकल टुरिज्म’ अर्थात् स्वास्थ्य पर्यटनको सम्भावना राम्रो देखिएकोनेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.लोचन कार्कीको भनाइ छ । नेपालमा उपचारका लागि आउने पर्यटकलाई ध्यानमा राखेर नीतिगत रुपमै अघि बढिरहेको सरकारको भनाइ छ ।
नेपालको पर्यटन क्षेत्रमा चिकित्सकीय सेवासँग जोड्न सके मुलुकको अर्थतन्त्रमा पनि टेवा पुग्ने भएकाले यसबारे काम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.कृष्ण पौडेलको भनाइ छ । नेपालमा आँखा, मिर्गाैला लगायत रोगको उपचारका लागि भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक पनि आउने गरेका छन् ।
नेपालको स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय बनाउन सके उपचारका लागि विदेश जाने समय र रकम बचत हुन्छ भने अर्कोतिर उपचारका साथै स्वास्थ्य पर्यटनबाट पनि राम्रो आम्दानी हुने सम्भावना छ । नेपालमा पर्यटन भित्र्याउने विभिन्न माध्यम छन् ।
तिनैमध्येको एक मेडिकल टुरिजम अर्थात् उपचार सेवाको माध्यमबाट पर्यटक बढाउने विषयबारे पनि बहस सुरु भएको छ । पर्यटकीय सम्भावनाको हिसाबले अग्रणी रहेको नेपालको पर्यटन क्षेत्रमा चिकित्सकीय सेवालाई जोड्न सके अझ राम्रो गर्न सकिने सरकारको अपेक्षा छ ।