Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको चुनावि मैदानमा दुई कलाकार मिलन लामा र हरि योञ्जन होमिए

चितवनको चुनावि मैदानमा दुई कलाकार मिलन लामा र हरि योञ्जन होमिए

इच्छाकामना न्युज

२४, कार्तिक २०७९
चितवनको चुनावि मैदानमा दुई कलाकार मिलन लामा र हरि योञ्जन होमिए
images

चितवन । यसपटकको प्रतिनिधिसभा सदस्य पदका लागि चितवनका दुई निर्वाचन क्षेत्रबाट दुई कलाकार चुनावी मैदानमा छन् । क्षेत्र नं १ बाट रत्ननगर–९, मोहनाका लोक तथा दोहोरी गायक मिलन लामा (विष्णु) र क्षेत्र नं ३ बाट भरतपुर–२, क्षेत्रपुरका स्थायीवासी लोक, आधुनिक एवं पप गायक हरि योञ्जन । यी दुवैजना तामाङ समुदायबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा जाने तयारीमा छन् ।

images
images

तर, उमेदवारी दिनुमा यी दुई कलाकारको योजना र उद्देश्य भने नितान्त फरक छ । ‘कृष्णभीरमा जाम’ गीतबाट नेपाली सांगीतिक क्षेत्रमा औपचारिकरुपमा पाइला टेकेका गायक मिलन सामाजिक काम गर्नकै लागि र समाज परिवर्तनको योजना बोकेर प्रतिनिधिसभामा पुग्ने सोचमा छन् ।

लोक तथा दोहोरी गीत–संगीतमा लागेका कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालमा समेत राजनीतिक आस्था नदेखाएका गायक लामा हालसम्म कुनै पनि दलमा नदेखिएका स्वतन्त्र व्यक्ति हुन् ।

तर, हरि योञ्जन भने कम्युनिस्ट विचार बोकेर हिँडेका कलाकार हुन् । दर्जनौँ गीत गाएर आफूलाई स्थापित कलाकार बनाउन सफल योञ्जनको केही वर्ष पहिले प्रकाशित ‘ओए, ओए सिम्रन’ बोलको गीत बहुचर्चित गीत हो ।

लोकसंगीतमा आधुनिक तथा पप गायकका रुपमा परिचय बनाउन सफल उनी हाल नेकपा माओवादी केन्द्रनिकटको जनसांस्कृतिक महासंघको केन्द्रीय प्राज्ञिक परिषद् सदस्य हुन् । तर, उनले कांग्रेस–माओवादीसहितको गठबन्धन दलविरूद्ध उमेदवारी दिएका हुन् । क्षेत्र नं ३ को निर्वाचन जितेर सांसद् बन्नभन्दा पनि आफ्नै पार्टी नेतृत्वको निर्णयमा चित्त बुझाउन नसकेपछि उनले उमेदवारी दिएको बताउँदै आएका छन् ।

रत्ननगर घर भएका गायक तथा सर्जक मिलन लामाले चुनावी घरदैलो अभियानलाई तीव्र बनाइरहँदा भरतपुरका अर्का गायक तथा संगीतकार योञ्जन भने घरदैलोमा निस्किएका छैनन् । ‘मलाई चुनाव जित्नु र हार्नुसँग कुनै सरोकार छैन, केवल माओवादी पार्टीभित्र परिवारवाद र पैसामुखी प्रवृत्ति बढ्दै गएपछि त्यसका विरूद्ध उमेदवारी दिएको हुँ’, उनी भन्छन् ।

यसअघि चितवन क्षेत्र नं १ मा नेकपा एमालेले जितेको थियो भने क्षेत्र नं ३ माओवादी केन्द्रले जितेको क्षेत्र हो । यसपटक पाँच दलीय गठबन्धन भएकोले क्षेत्र नं १ मा दलगतरुपमा सत्ता गठबन्धनसहितको कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नं ३ मा भने सत्ता गठबन्धनसहित नेकपा माओवादी केन्द्रका डा। भोजराज अधिकारी, राप्रपाका एकल उमेदवार विक्रम पाण्डे र नेपाली कांग्रेसका नेताद्वय दिनेश कोइराला र जगन्नाथ पौडेललगायत चुनावी मैदानमा छन् ।

यसबाहेक पनि चितवन क्षेत्र नं १ मा दलीय तथा स्वतन्त्र गरी १९ जना र २ मा दलीय तथा स्वतन्त्र गरी २० जना प्रतिनिधिसभा निर्वाचनमा उमेदवारका रुपमा सहभागी भएका छन् । मिलन र हरिजस्तै तीनवटै निर्वाचन क्षेत्रबाट स्वतन्त्र उमेदवारी दिएका नेताहरु कसैको चुनावी प्रचारप्रसार आक्रामकरुपमा अगाडि बढेको छ भने कुनै उमेदवार गुमनाम छन् । चितवनपोष्ट दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - १०:०३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology