गोरखा । माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाका गठबन्धन दलका सबै उम्मेदवारलाई नयाँ रेकर्ड राख्नेगरी जिताउनुपर्ने बताएका छन् । चुनाव प्रचार प्रसारका क्रममा शुक्रवार गोरखाको ठुलो आँगनमा बोल्दै उनले भने, ‘गठबन्धनका सबै उम्मेदवारलाई विश्वले देख्ने गरी भोट हाल्नुस् । गोरखा यसै पनि विश्वले देख्ने जिल्ला हो । सबैभन्दा ठुलो एकता र राम्रो प्रदर्शन गोरखाबाट गर्नुप¥यो, मेरो अपिल छ ।’ यसकालागि जनतामा पनि असाधारण एकताको अवश्यकता रहेको उनले बताए ।
‘गोरखा जिल्लाको निर्वाचन परिणाम आउँदा सिङ्गै देशले वाह, वाह गोरखा ! भनोस्’, उनले भने, ‘देशभरीका जनताले क्यावात गोरखाली ! जनता भनुन्, यस्तो हुनुपर्छ गठबन्धनको एकता ।’ बिभिन्न चलखेल भइरहेकाले निश्चित जितिहालिन्छ भनेर चुप लागेर बस्ने अवस्था नरहेको उनले बताए । ‘शान्ति र बिकासका निम्ति ठूलो प्रतिज्ञा गोरखाबाट देखियोस्’, गठबन्धनका सबै उम्मेदवारलाई भोट हाल्न अपिल गर्दै उनले थपे, ‘कांग्रेस र माओवादी मिल्दा असाधारण परिणाम देखियो भनेर दुनियाँको शक्तिले थाहा पाउनु, अनि मात्रै जितेको ठहरिनेछ ।’ समान्य रुपमा जितियो भनेर मात्रै सपना पूरा हुन नसक्ने उनले बताए । ‘लुलो हात दिएर हुँदैन, लाखौँ जनताको हात दिएर पठाउनुभयो भने बलियो हुन्छ’ उनले भने ।
गठबन्धनबाट गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाई, १ ‘क’ का उम्मेदवार कृष्ण धिताल, २ ‘क’ का उम्मेदवार फणिन्द्र देवकोटा, २ ‘ख’ का उम्मेदवार सुरेन्द्रराज पाण्डे लगायतका उम्मेदवार चुनावी कार्यक्रममा सरिक थिए ।
दाहालले सरकारको नेतृत्व गर्ने विषयमा गठबन्धन दलभित्र कुनै छलफल नभएको बताएका छन् । उनले पत्रकारहरुसँग को भेटघाटमा भने ‘सरकारको नेतृत्व गर्ने विषयमा गठबन्धनमा कुनै छलफल गरेका छैनौँ ।’
प्रधानमन्त्रीकै लागि मरिहत्तले हाल्ने ब्यक्ति आफू नभएको बताउँदै दाहालले भने ‘साथीहरुले संभावित प्रधानमन्त्री भन्नुभएको छ । संभावित त म होईन त किन भन्नु र, संभावना त हो, देशको नेतृत्व गर्नेअवसर आयो भने मैले त्यो जिम्मेवारीबाट पन्छिने कुरा छैन ।’ अहिले उम्मेदवारहरुलाई परिचित गराउँदा कोही मूख्यमन्त्री, कोही प्रधानमन्त्री, कोही मन्त्रीका संभावित उम्मेदवार भनेको उनले बताए ।
गोरखा २ मा आफ्नो प्रतिस्पर्धी नै पत्ता नलागेको बताउँदै उनले भने ‘केहीदिन अघि ४४ र शुक्रवार पाँचवटा कार्यक्रममा जँदा प्रतिस्पर्धी नै देखिएन, मैले चिनेको पनि छैन ।’
शुक्रवार बिभिन्न पाँचवटा चुनावी सभामा सहभागी भएका दाहालले आसन्न निर्वाचनमा एक एक भोट खेर जान दिन नहुने बताएका छन् । उनले भने, ‘जित्ने कुरा भन्दा पनि रेकर्ड महत्वपूर्ण छ ।’ यसका लागि एकएक भोट महत्वपूर्ण रहेको उनले बताए ।
गोरखामा मुख्य प्रतिस्पर्धी भनेको कांग्रेस र माओवादी हो । उनीहरु मिलेपछि चुनाव जितिहालियो अब के मेहनत गर्नुपर्यो र भन्या जस्तो भन्ने तर्क आफुले सुनेको बताउँदै दाहालले भने, ‘यसरी सोच्नु सही हुँदैन, देश र दुनियाँबाट गोरखाले रेकर्ड बनाउनुपर्छ, जनताले एउटा असाधारण अभिब्यक्ति यहाँबाट दिनुपर्छ ।’ यसो भयो भने मात्र गोरखाबाट भनेजस्तो बिकासको अभियान थाल्न सकिने उनले बताए ।
घरघरमा टोलटोलमा गएर यो कुरा जनतालाई बुझाउन आवस्यक रहेको उनले बताए ।
‘मतदान गर्ने तरिका, मतदान केन्द्रसम्म सुरक्षित मतदाता पु¥याउने, मतदानमा हुन सक्ने त्रुटी रोक्न पनि सबैले ध्यान दिनुपर्छ’ दाहालले भने । दाहालले पटक पटक एउटा नयाँ रेकर्ड प्रदर्शन गर्न कार्यकर्ता र मतदातालाई अपिल गरे । यसअघि चुनाव जितेको चितवनमा आफुले बिकास ब्यापक गरेको बताउँदै उनले गोरखाका बाटोहरु कालोपत्रे गर्ने, यहाँ पनि सुधारात्मक नभई गुणात्मक बिकास गर्ने योजना रहेको उनले बताए ।
हरेक भेटघाटमा मतदातालाई दाहालले गोरखामा चुनाव जित्न मात्रै नआएको प्रष्टिकरण दिएका छन् । नेपालमा बिकास र समृद्धीको मोडल गोरखाबाट तयार गर्न आफु आएको उनले बताए । गोरखकाली रबर उद्योग संचालन, बूढीगण्डकी आयोजना निर्माण, बेनिघाट लार्के सडक निर्माण, पालुङटार एअरपोर्ट, गोरखाको पर्यटन प्रर्वद्धन लगायतका काममा आफ्नो प्राथमिकता रहने उनले बताए । जहाँ जान्छन् त्यहाँका स्थानीयको मुद्धामा रहेर उनले प्रतिवद्धता जनाउँदै हिँडेका छन् ।
शुक्रवार गोरखा नगरपालिका क्षेत्रमा मतदाता भेटघाट गर्न दाहाल गोरखा आएका हुन् । दरौदीं दैनिकबाट