Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जीवनशैली

जुत्ता चप्पल सिलाएरै फेरियो जयबहादुर नेपालीको जीवनशैली

जुत्ता चप्पल सिलाएरै फेरियो जयबहादुर नेपालीको जीवनशैली

रासस

१४, कार्तिक २०७९
जुत्ता चप्पल सिलाएरै फेरियो जयबहादुर नेपालीको जीवनशैली
images

रामपुर । जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन ।

images
images

कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् । जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै नभई समाजमा राम्रो चिनिने अवसर मिलेको छ । उनले दुई दशक अघिदेखि यो व्यवसाय गर्दै आएका हुन् । अहिले पनि निरन्तरता दिइराखेका छन् ।

“पुराना च्यातिएका फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु थु र घृणा गर्न थाले”, उनले भने, “अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि सबैले प्रशंसा गर्न थालेका छन् ।” रामपुर ५ स्थित बेझाड बजारको एक कच्ची घरको सानो कोठामा सियो र धागोबाट सुरु गरेको व्यवसाय अहिले सटर भाडामा लिएर व्यवस्थित तरिकाले चलाएका छन् ।

विदेशतिर जानुभन्दा गाउँघरमै केही गरौँ भन्ने मनसायले पुराना च्यातिएका फाटेका जुत्ता चप्पल सिलाउने कार्य सुरु गरेको अहिले यसबाटै राम्रो आम्दानी गर्न सफल भएको उनी बताउँछन् ।

काम सानो ठूलो भन्ने हुँदैन, हातमा सीप भयो भने जुत्ता चप्पल सिलाएर लाखौँ कमाउन सकिने उनको अनुभव छ । बिहानदेखि राति अबेरसम्म पसलमा जुत्ता चप्पल सिलाएरै समय बितिरहेको छ । व्यवसाय फष्टाउँदै जाँदा हाल दुई जनालाई रोजगार दिएका छन् ।

यसै व्यवसायबाट छोराछोरीलाई उच्च शिक्षा, परिवारको खर्च सजिलै धान्दै आइरहेको उनको भनाइ छ । दुई जनालाई मासिक तलब, घरपरिवारको गुजारा सबै खर्च कटाएर मासिक रु ५० हजार बढी आम्दानी गर्न सफल भएको उनले बताए । “समाजले के भन्छ भनेर बसियो भने जीवनमा प्रगति गर्न सकिँदैन, आफूले जे काम जानियो त्यही काम गर्ने हो, परिवारको साथमा बसेर मैले जुत्ता चप्पल सिलाएरै राम्रो कमाई गरेको छु, यसमै म सन्तुष्टि र खुसीसाथ जीवन व्यतीत गरिरहेको छु”, उनले भने ।

काममा इमान्दारिता र मेहनत गरियो भने पैसा कमाउन दुःख छैन । विवाह, पार्टी, स्कुल, कलेजका जुत्ता आफैले तयार गर्छन् । दैनिकजसो ५० भन्दा बढी ग्राहक पसलमा सेवा लिन पुग्छन् । सानो लगानीमा परिवारको साथमा रमाउन पाउँदा धेरै खुसीका साथ जीवन अगाडि बढेकोमा यस व्यवसायमा उनी गौरव गर्छन् ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७९ सोमवार - ०८:४७:३८ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology