काठमाण्डौ । बलात्कार आरोपमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीले तेस्रोपटक म्याद थप्दै छ। थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी आज म्याद थपका लागि सन्दीपलाई अदालतमा उपस्थित गराउने भएको छ।
पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार सन्दीपविरुद्ध अनुसन्धान बाँकी रहेकाले म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौंमा पेस गरिनेछ।
प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहस सुरू हुनेछ।