आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेपाली काँग्रेसको वहालवाला निर्वाचित वडाध्यक्ष नै नेकपा एमालेमा प्रवेश गरेका छन्। काँग्रेसको वडा नं. १ को वडाकमिटि सभापति किशान थापा मगर आज आँबुखैरेनीमा नेकपा एमालेद्वारा आयोजित एक कार्यक्रमबाट एमालेमा प्रवेश गरेका छन्।
एमाले प्रवेश गरेका थापालाई आशन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ मा एमालेबाट उम्मेद्वार रहेका एक बहादुर रानाले टिका र खादा लगाई पार्टी प्रवेश गराएको नेकपा एमाले आँबुखैरेनी गाउँकमिटिका अध्यक्ष कपिल खनालले जानकारी दिए। अध्यक्ष खनालले नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी लगायतका अन्य पार्टीका कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गर्ने तयारी रहेको जानकारी दिए।
नवप्रवेशी थापा पहिलो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडा नं. १ को उम्मेद्वार रही निर्वाचित वडाध्यक्ष बनेका थिए भने स्थानीय तह निर्वाचनमा पनि नेपाली काँग्रेसबाटै वडाध्यक्षमा उम्मेद्वार रही पराजित भएका हुन्। हाल थापा नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित वडासभापति थिए।