कुरिनटार । इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले आफ्नै जीवन सम्झेर पाहुनालाई गुणस्तरी खाना खुवाउन आग्रह गरेका छन्। उनले आज कुरिनटारमा आयोजित खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोन्धन गर्ने क्रममा यस्तो आग्रह गरेका हुन्।
कार्यक्रममा बोल्दै अनुगमन समितिका संयोजक समेत रहेका उपाध्यक्ष सिवाललले अनुगमनको क्रममा केही होटलहरुमा सरसफाईमा ध्यान नदिएको र म्याद गुज्रिएका खाद्य समाग्रीहरु भेटिएकोले आफ्नै जीवन स्वास्थ्यलाई सम्झेर सेवा गर्न आग्रह गरेका हुन्।
साथै उनले अनुगमनलाई निरन्तरता दिईने र अटेर गर्नेलाई कानुनी दायरा ल्याइने बताए । वडाध्यक्षहरुलाई पनि नियमित अनुगमन गर्न आग्रह गरे । उपाध्यक्ष सिलवालले गाउँपालिकाभित्र बनेका होमस्टेहरुमा स्थानिय उत्पादनका खाद्यहरुलाई जोड दिइने बताए ।
कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले स्थानिय उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिए । स्थानिय उत्पादन बिक्री गरेर बजारमा तयारी अवस्थामा राखेका बजारमा पाइने स्वास्थ्यका लागि हानिकारक खाद्यपदार्थ उपभोग गर्ने कार्यलाई रोक्न जनचेतना मुलक कार्यक्रम आयोजना गर्नुपर्नेमा उनको जोड छ ।
वडा नम्बर ४ का वडाध्यक्ष रुदप्रसाद्र उप्रेतीले होटलहरुमा अनुगमनलाई निरन्तरता दिनुपर्ने बताए । साथै उनले होटलहरुमा बास बस्ने पाहुनाहरुको परिचय नराख्ने गरेको पाइएको बताए । नाम ठेगाना र सम्पर्क नम्बर नहुदाँ घटना घटेको अवस्थामा व्यवसायीहरु स्वंय आप्ठ्यारोमा पर्ने गरेको बताए । उनले होटलमा बास बस्ने पाहुनाहरुको नाम ठेगाना र सम्पर्क नम्बर अनिवार्य राख्न आग्रह गरे ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषालले स्वास्थ्य जीवनका लागि आहार–विहारमा ध्यान दिनुपर्ने बताए । उनले पनि स्वास्थ्यका लागि स्थानिय उत्पादनका खाद्य बस्तु उपभोग गर्नुपर्ने जोड दिए । उनले होटल व्यवसायीहरुलाई स्वस्थ्य खाना खुवाउन आग्रह गरेका छन्।
कार्यक्रममा खाद्य स्वच्छता बारे खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय चितवनका कार्यालय प्रमुख घननाथ अधिकारीले प्रष्ट्याएका थिए। उनले खाद्य पदार्थ तयार पार्दा वा खादाँ यस स्वास्थ्यमा कुनै किसिमको नकरात्म असर पार्न नहुने बताए ।
उनले दुध, पानी मासु अण्डा माछा तेल दालमोठ लगायत बेकरीजन्यमा बढी जोखिम देखिने बताए । खाद्य स्वच्छताको कमी, अस्वस्थकर स्रोत ,गलत अभ्यास, लापरबाही र अज्ञानताका कारण खाद्य पदार्थहरु तयार पर्दा अखद्यमा परिणत हुने गरेको बताए।
उनले खाद्य स्वच्छता कायम राख्ने उपाय, खान योग्य र अयोग्य खाद्य पदार्थ छुट्याउने तरिका स्वस्थ खाद्य पदार्थ उत्पादन, अनुगनमा स्थानिय, प्रदेश र संघिय सरकारको अधिकार लगायतका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।
खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा तथा गाउँपालिकाको सहजीकरणमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिका उपाध्यक्ष माया सिलवालको सभापतित्वमा सम्पन्न अन्तरकृया कार्यक्रम गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले सञ्चालन गरेका थिए ।
कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष तेज बहादुर शेरचन सहित जनप्रतिनिधि, स्थानीय होटल व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।