सिक्किम । गुरुङ समुदायको भाषा संस्कृति जोगाउनका लागि सिक्किम सरकार हरदम तयार रहेको मुख्यमन्त्री प्रेम सिंह गोले तामाङले बताएका छन्। सिक्किमको देन्ताम भ्यालीमा आज(मंगलबार) देखि सुरु भएको दोस्रो अन्तराष्ट्रिय तमू (गुरुङ) सम्मेलनको समुद्घाटन गर्दै मुख्यमन्त्री तामाङले यस्तो बताएका हुन्।
सम्मेलनको समुद्घाटन पश्चात सम्बोन्धन गर्ने क्रममा उनले सिक्किम सरकार गुरुङ जातीको मात्र नभै सम्पूर्ण जाति समुदायको भाषा संस्कृति जोगाउन निरन्तर लागिपरिरहेको बताए । ‘अहिले हामीले भाषा जोगाउनकै लागि विद्यालयहरुमा मातृभाषा कक्षाहरु संचालन गर्नुका साथै मातृभाषामा विद्यावारिधी गर्न चाहने विद्यार्थीहरुको लागि लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन गर्न लाखौ रुपैयाँ उपलब्ध गर्ने निर्णय गरेका छौं’ –उनले भने ।
यस्तै सम्बोधनकै क्रममा मुख्यमन्त्री तामाङले सिक्किम सरकारको नेतृत्व आफुले सम्हालेपछि तत्काल गुरुङ समुदायको संस्कृति जगेर्ना गर्नका लागि दुई स्थानमा रोधींघर स्थापना गरिएको बताए। यतिमात्र नभै सिक्किम सरकारको एसम्बेलीमा गुरुङ समुदायको विधायक नभएको कारण आफुले अहिले सरकारको हरेक नियुक्तीमा गुरुङलाई प्राथमिकता दिई जिम्मेवारी दिइने गरेको बताए।
सम्मेलनको पहिलो दिन समुद्घाटन गरिनुका साथै विभिन्न देशबाट आएका प्रतिनिधिहरुले उक्त देशको तमू समुदायको अवस्था र गतिविधिबारे जानकारी गरेका थिए। आजदेखि सुरु भै तीन दिनसम्म चल्ने सम्मेलनमा करिब २५ देशबाट झण्डै ७ सय जना प्रतिनिधिहरुको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ।