Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

पुरानो मेडिकल कलेजले भरतपुर अस्पताललाई ३ करोड भन्दा बढि भाडा तिरेन

पुरानो मेडिकल कलेजले भरतपुर अस्पताललाई ३ करोड भन्दा बढि भाडा तिरेन

images

इच्छाकामना न्युज

१४, पौष २०७७
पुरानो मेडिकल कलेजले भरतपुर अस्पताललाई ३ करोड भन्दा बढि भाडा तिरेन
images

चितवन, १४  पुस । चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालको जग्गामा सञ्चालित पुरानो मेडिकल कलेजले भाडा तिर्न पटकपटक इन्कार गर्दै आएको छ । हालसम्म ३ करोड ८ लाख २५ हजार ९ सय २५ रुपैयाँ रकम कलेजले तिर्न बाँकी रहेको भरतपुर अस्पतालले जनाएको छ । महालेखा परीक्षकको कार्यालयले स्वास्थ्य विभागमार्फत कलेजबाट उठाउन बाँकी रहेको उक्त रकम असुली गर्न आफूहरुलाई ताकेता गरिरहेको भरतपुर अस्पतालका लेखा अधिकृत हरि लम्सालले जानकारी दिए । विसं २०६२ मा सम्झौता हुँदा प्रतिबिघा वर्षको रु एक लाख, प्रतिवर्ष थप सहयोग रु १५ लाख र हरेक वर्ष सो रकमको १० प्रतिशतले वृद्धि हुने भनी सम्झौता गरिएको छ ।

वार्षिक रुपमा रहेको नियमित भाडा भने कलेजले तिरेको दाबी गर्दै आएको छ । तर मेडिकल कलेजले वार्षिक प्रतिबिघा रु एक लाख बाहेकका अन्य रकम तिर्न आलटाल गर्दै आइरहेको भरतपुर अस्पतालले जनाएको छ । त्यही रकमलाई जोड्दा ३ करोडभन्दा बढी हुन आएको लेखा अधिकृत लम्साल बताउँछन् । स्वास्थ्य विभागको आग्रहमा भरतपुर अस्पतालले पुरानो मेडिकल कलेजलाई रकम तिर्न पटकपटक ताकेता गर्दा पनि मेडिकलले इन्कार गर्दै आएको उनले बताए ।

महालेखा परीक्षकको कार्यालयले २ करोड २० लाख २३ हजार ७७० रुपैयाँ ९१ पैसा बेरुजु देखाएको छ । तर मेडिकल कलेजले सम्झौता बाहेकको रकम भन्दै तिर्न आलटाल गरिरहेको छ । २०७२/७३ सालमा भाडा वृद्धि बापतको रकम ६७ लाख ७८ हजार, ०७३/७४ मा १ प्रतिशतको लिज बापतको रकम ५६ लाख २५ हजार, ०७३/७४ को १० प्रतिशत भाडा वृद्धि बापतको १६ लाख ६७ हजार ८ सय, ०७४/७५ मा भाडा वृद्धि बापतको रकम १९ लाख २४ हजार र ०७५/७६ को १० प्रतिशतको भाडा वृद्धि बापतको ६० लाख २८ हजार रुपैयाँ महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको छ । गत असारसम्म नियमित रुपमा बुझाउनुपर्ने भाडा रकम २३ लाख २२ हजार १५५ रुपैयाँ कलेजले नतिरेको सहलेखापाल हरि लामिछानेले बताए । चालु आर्थिक वर्ष ०७७/७८ को भाडा बापतको रकम ६४ लाख ८० हजार रुपैयाँ पनि कलेजले तिरेको छैन ।

पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले नियमित भाडा तिरेको तर बेरुजुको नाममा तिर्न भनिएको सम्झौता बाहेकको रकम नतिरेको बताए । उनले चक्रिय प्रणाली अन्तर्गत तिर्न भनिएको रकमका बारे अदालतमा मुद्दा परेको समेत जानकारी दिए । उनले यो वर्षको बाहेक सबै भाडा आफूहरुले तिरेको दाबी गरे ।

भरतपुर अस्पतालको नाममा रहेको जग्गा कलेजलाई भाडामा दिने निर्णय गरेसँगै वि.सं. २०५१ सालमा तत्कालीन शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्रालयले इन्टरनेस्नल सोसाइटी फर मेडिकल एजुकेसनसँग सम्झौता गरेको थियो । सो सम्झौतापश्चात अस्पतालले ९ विघा जग्गा ५० वर्षका लागि भाडामा दिएको हो । यसबीचमा अस्पताल र कलेजबीच विभिन्न मितिमा फरकफरक किसिमका सम्झौता हुँदै आएको अस्पतालले जनाएको छ ।

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - १९:५५:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology