चण्डिभञ्ज्याङ्ग । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रका गर्भवती महिलाहरुको लागि सुरु गरेको निःशुल्क भिडियो एक्सरे परीक्षण सुविधा अभियान वडा नं. ६ स्थित चण्डिभञ्ज्याङ्गमा पुगेको छ। सो अभियान अन्तर्गत मंगलबार चण्डिभन्ज्याङ्ग स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण गरीएको हो।

परीक्षणमा १३ जना गर्भवतीको निःशुल्क स्वास्थ्य जाँच गरिएको स्वास्थ्य चौकी इन्चार्ज भक्त बहादुर गुरुङले जानकारी दिए।
अभियानको क्रममा स्वास्थ्यकर्मी सहितको टोली लिएर गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, वडाध्यक्ष लक्ष्मण चेपाङ गाउँमै पुगेका थिए।