कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधिहरु गाउँपालिका भित्र अनधिकृत रुपमा राखिएका होर्डिबोर्डहरु हटाउनका लागि एक्सनमा उत्रिएका छन्। गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको नेतृत्वमा उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल, वडाध्यक्षहरु रुद्र प्रसाद उप्रेती, तेज बहादुर शेरचन लगायतको टोली अनधिकृत रुपमा राखिएका होर्डिबोर्डहरु हटाउनका लागि एक्सनमा उत्रिएका हुन्।

पहिलो चरणमा गाउँपालिकाको वडा नं. ३ स्थित मौवाखोला देखि वडा नं. ६ स्थित रिग्दिखोलासम्मको मुख्य राजमार्गको छेउछाउमा अनधिकृत रुपमा राखिएको होर्डिङबोर्डहरु हटाईएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए। उनका अनुसार गाउँपालिकाको अनुमति बिना अनिधिकृत तरिकाले राखिएका ती होर्डिङबोर्डहरु हटाउनका लागि गाउँपालिकाले पटक पटक मिति तोकेर सूचना जारी गर्दा पनि अटेरी गरेपछि हटाइएको हो।

‘सम्झौताको म्याद सकिएका र गाउँपालिकाको अनुमति विनै राखिएका विभिन्न कम्पनीको होर्डिङबोर्ड हटाउन हामीले पटक–पटक सूचना जारी ग¥यौ तर पनि अटेर गरेपछि हटाउने अभियान थालेका हौं’ –उनले भने ।
गाउँपालिकाका विभिन्न स्थानमा यसरी अनधिकृत रुपमा होर्डिङबोर्ड राखिदा बजारको सौन्दर्य बिगारिनुका साथै करको दायरामा आउन नसक्दा गाउँपालिकाले वर्षौ देखि लाखौ रुपैयाँ आम्दानी गुमाउनु परेको थियो।

यसरी गाउँपालिकाले थालेको अभियानले बजारको सौन्दर्यलाई कुरुप हुन बाट जोगाउने र व्यवसायीलाई करको दायरमा ल्याउन सके गाउँपालिकालाई थप आयस्रोत वृद्वि गराउन सकिने गाउँपालिका अध्यक्ष गुरुङले बताए। साथै अभियानकै क्रममा गाउँपालिकाले केहि स्थानमा स्वागतबोर्ड पनि राखिएको उनले बताए।
