हात्तिवाङ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाका गर्भवती महिलाहरुको निःशुल्क भिडियो एक्स–रे सेवाको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ गाउँगाउँमा स्वास्थ्यकर्मी लिएर पुग्न थालेका छन्। अध्यक्ष गुरुङ आज पनि स्वास्थ्यकर्मीहरुको टोली लिएर वडा नं. १ स्थित काउलेमा पुगेका छन्।

वर्षाका कारण गाउँबाट बजारसम्म गर्भवती महिलाहरु भिडियो एक्स–रे सेवा लिन असहज हुने भएका कारण उनीहरुको सहजताका लागि गाउँपालिकाले ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत गाउँगाउँमा घुम्ति सेवा संचालन गरेको छ। सोही कार्यक्रम अन्तर्गत गाउँपालिकाका स्वास्थ्यकर्मीहरु साथमा लिएर गाउँमा पुगेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए।

उनले भने ‘स्थानीय सरकार नागरिकको सेवक भएकोले नागरिकको सेवामा सधै तयार रहनुपर्छ, यसैले हामी गाउँका गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्स–रे सेवा लिएर गाउँ–गाउँमा आएका हौं।’

गाउँपालिका अध्यक्ष गुरुङको नेतृत्वमा गाउँपालिका स्वास्थ्यशाखा प्रमुख बासु सापकोटा, स्वास्थ्यशाखा उपप्रमुख हरि देवकोटा स्वास्थ्यकर्मी कविता काफ्ले लगायत गएको टोलीले ेवा दिएका थिए भने काउले स्वास्थ्य चौकीमा संचालन गरिएको घुम्ति सेवामा ३२ जना गर्भवती महिलाहरुले सेवा लिएका थिए।