कुरिनटार । पानी पर्न कम भएसँगै चितवनको इच्छाकामना गाउँपालिकाले ग्रामिण कृषि सडकहरु सफा गर्न सुरु गरेको छ। वर्षामा ग्रामिण कृषि सडकहरुमा पहिरो जाने, पानी बग्ने हुदाँ बिग्रेर गाडी चल्न नसक्ने भएकोमा गाउँपालिकाले सफा गर्न सुरु गरेको हो।
गाउँपालिकाले जेठ देखि अवरुद्ध रहेका ग्रामिण सडकहरु सुचारु गराउन भदौको सुरुवातीमै सफा गर्न सुरु गरेको भएपनि पुनः वर्षा बढ्दै जादा सफा गर्न समस्या भएको थियो । अहिले भने वर्षा कम भएसँगै पुनः बाटो सफा गर्ने काम सुरु गरेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए।
‘दशै अघिनै सबै ग्रामिण सडकहरु सफा गरेर गाडी चल्ने बनाउछौ’ –अध्यक्ष गुरुङले भने ‘चाडपर्व नजिकिएको छ, यसैले पनि नागरिकलाई सहजताको लागि चाडो भन्दा चाडो गाडी गुड्ने गरी काम गरिरहेका छौ ।’
अधिकांश ग्रामिण भू–भाग रहेको जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा वर्षा सुरु हुनेवित्तिकै ग्रामिण सडकहरु अवरुद्ध हुने गरेको छ ।