नुवाकोट, १२ पुस । नुवाकोटको किस्पाङ गाउँपालिकामा गर्भवतीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम सुरु भएको छ । सर्वसाधारणका सुविधाका लागिकिस्पाङ गाउँपालिकाको तामाङ समुदायलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको हो ।
किस्पाङ– ३ स्थित काहुले स्वास्थ्य चौकीमा आयोजना गरिएको कार्यक्रममा सहभागी गर्भवतीहरुलाई गाउँपालिकाका अध्यक्ष छत्र बहादुर लामा र उपाध्यक्ष मायादेवी न्यौपानेले एक÷एक क्रेट अण्डा प्रदान गरि गर्भवती आमासँग उपाध्यक्षको भेटघाट कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।
गर्भवती आमासँग उपाध्यक्ष भेटघाट कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराए बापत एक/एक क्रेट अण्डा र स्वास्थ्य संस्थामा सुत्केरी गराएमा २ क्रेट अण्डा, १ प्याकेट आयोडिन नुन र ज्वानो स्वास्थ्य संस्थाबाटै प्रदान गरिने गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले बताउनुभयो । उपाध्यक्ष न्यौपानेका अनुसार ‘गर्भवतीको हातहातमा अण्डा र घरघरमा हरियो झण्डा’ भन्ने नारासहित कार्यक्रमलाई सञ्चालन गरिएको हो ।
सुरक्षित मातृत्व शिशु पोषण वितरण अन्तर्गत रहेर सञ्चालित कार्यक्रमले गर्भवतीलाई नियमित गर्भ परीक्षण गराउन र स्वास्थ्य संस्थामा नै सुत्केरी गराउन प्रेरित गर्ने विश्वास लिइएको छ ।