आँबुखैरेनी । नयाँ नेतृत्व आएसँगै एकपछि अर्को जनमुखि निर्णय गर्दै काम गरिरहेको तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनतामाझ फेरी अर्को जनमुखि काम गर्ने तयारी थालेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै आगामी असोज १ गतेदेखि लागु हुने गरि त्यसपछि दर्ता भएका नयाँ बन्ने निजि घर र भवनको नक्सा गाउँपालिकाले नै निःशुल्क बनाईदिने भएको हो।
यो सँगै सेवाग्राहीले प्रस्तावित नक्साकै लागि बाहिर निजि कन्सल्टेन्सीहरुलाई न्युनतम तिर्नुपर्ने ८ देखि १० हजार रुपैयाँ रकम अब तिर्नुनपर्ने भएको छ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक निति कार्यक्रम तथा बजेटमै सेवाग्राहीको नयाँ बन्ने घर तथा भवनको प्रस्तावित नक्सा निःशुल्क बनाउने घोषणा गरेको थियो । सोहि बमोजिम यो काम सुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनका अनुसार तीन तल्ला सम्मको लागि गाउँपालिकाले नै नक्सा बनाइदिनेछ। यद्यपी नक्सा पासका लागि भने राजस्व तिर्नुपर्ने उनले बताए।
भवन ऐन २०५५ को दफा ८ (ग) अनुसारको (ग वर्गका भवनहरु) भुई तलाको क्षेत्रफल १००० वर्गफिटसम्म र उचाई ३ तलासम्म वा स्ट्रक्चलरल स्पान ४.५ मिटरभन्दा कम भएका भवनको हकमा लागु हुने गाउँपालिकाले जनाएको छ।
यस्तै हाल गाउँपालिकामा स्ट्रक्चरल इन्जिनियरको व्यवस्था नभएकोले पहिलो चरणमा भुई तलाको क्षेत्रफल १००० वर्गफिटसम्म र उचाई ३ तलासम्म वा स्ट्रक्चलरल स्पान ४.५ मिटरभन्दा कम भएका भवनको नक्सा निःशुल्क गरेको र छिट्टै गाउँपालिकाले इन्जिनियरको व्यवस्था गरेर उक्त मापदण्ड भन्दा माथिका निजि घर, भवनका साथै व्यावसायिक भवनहरुको समेत निःशुल्क नक्सा बनाउने व्यवस्था गर्ने अध्यक्ष चुमानले बताए।
नक्सा पास नगरी बनाइएका घर तथा भवनहरुमा यो सेवा सुविधा लागु हुने छैन।