तनहुँ । आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले शिक्षा कोष निर्माणका लागि जनप्रतिनिधिहरुको भत्ता लगानी गर्ने बताएका छन् । पालिका भित्र रहेका प्रधानाध्यापकहरुको बैठकलाइ सम्बोधन गर्दै अध्यक्ष चुमानले भने, जनप्रतिनिनिधहरुले पाउने पारीश्रमिकबाट थालनी गरेर शिक्षाकोष निर्माण गरी दुखका समयमा त्यसलाइ परिचालन गरिन्छ । शिक्षामा अघिल्लो साल भन्दा तीनगुणा बजेट विनियोजन गर्दा पनि अपुग भएको र आगामि दिनमा त्यसलाइ सुधार गर्दै जाने बताए ।
हामीले विद्यालयहरुलाइ बस प्रदान गर्दैछौँ । यसले टाढाबाट विद्यालय जाने बालबालिकाहरुका लागि सहज हुनेछ । शिक्षक सँख्या कम भएका विद्यालयमा पालिकाको आन्तरिक स्रोतबाट १२ जना शिक्षक प्रदान गरेका छौँ । आवश्यकताका आधारमा फेरी पनि स्रोतको व्यवस्थापन गरेर हामी शिक्षक थप गर्दै जानेछौँ ।
विद्यालयको अत्यावश्यक कामहरु जस्तै खानेपानी, शौचालय,छानो चुहिने समस्याहरु तत्काल समाधान गर्न आवश्यक रहेकोले समस्याहरु पेश गर्न उनले अनुरोध गरे । विद्यालयलाइ उत्पादनसँग जोड्न जरुरी रहेको उनले बताए । विद्यालय खाजामा स्थानीय उत्पादनलाइ जोड दिनु पर्दछ । प्रधानाध्यापकहरुले स्थानीय उत्पादनमा प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछु, स्थानीय उत्पादनलाइ प्राथमिकता दिने विद्यालयका लागि पालिकाले प्रोत्साहन गर्दछ ।
विद्यालयमा आएर एकदुइ थान पोशाक र दुइचार दर्जन कापी कलम लिएर आउने कुनै पनि व्यक्ति सँघ सँस्थालाइ प्रवेश दिनु उपयुक्त हुँदैन । एउटा बालबालिकाको वार्षिक,अर्धवार्षिकका लागि गैर खाद्य सामग्रीको जिम्मा लिनेलाइ मात्र अनुमति दिन सकिने उनले बताए । पालिकाले विद्यालयको शैक्षिक सुधारका लागि कसैसँग पनि सम्झौता गर्दैन । विद्यालय शिक्षा सुधार हुनु अनिवार्य छ,भएका समस्या समाधान गर्न पालिका तयार रहेको छ ।
आँवुखैरेनी गाउँपालिका भित्रका विद्यालयहरुलाइ समायोजन गरी स्विमिङपुल सहितको विद्यालय बनाउन पनि पालिका पछि नपर्ने उनले बताए । एउटा विद्यालयमा दुइ हजारका जना विद्यार्थी जम्मा गरेर शिक्षण गर्ने नीति लिइने उनले बताए ।